१५२७.१२ मिटर भरियो कुलेखानी जलाशय

Nagarik Sewa 4901+ समाचार ( )
१४ अशोज २०८३, बुधवार

काठमाडौं । कुलेखानी जलाशयमा पानीको सतह एक हजार ५२७.१२ मिटर भरिएको छ । जलाशयमा बुधबार बिहान ९ बजे पानीको सतह एक हजार ५२७ दशमलव १२ मिटर पुगेको हो ।जलाशयको पूर्ण भण्डारण क्षमता एक हजार ५३० मिटर रहेकाले अझै करिब तीन मिटर ठाउँ बाँकी रहेको तथा पानीको सतह बढ्ने दर न्यून रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

यसअघि मौसम पूर्वानुमान महाशाखाले असोज ७ देखि ११ गतेसम्म अत्यधिक वर्षा हुन सक्ने विशेष मौसमी बुलेटिन जारी गरेपछि जलाशयको सतह उच्च हुन सक्ने अवस्थालाई ध्यानमा राखेर विभिन्न चरणमा सतर्कता तथा पूर्वतयारी गरिएको थियो । मौसममा सुधार आएकाले हाल चेतावनीको साइरन बजाउनुपर्ने अवस्था नरहेको प्राधिकरणले स्पष्ट पारेको छ ।

जलाशयको पानीको सतह अधिकतम बिन्दुमा पुगेमा सुरक्षा तथा पानीको सन्तुलन कायम राख्न बाँधका मुख्य गेट खोल्नुपर्ने सम्भावनालाई ध्यानमा राख्दै असोज ११ गते सिस्नेरी खोला तथा वाग्मती नदीको तल्लो तटीय क्षेत्रमा पानीको बहाब अचानक बढ्न सक्नेबारे एसएमएस सन्देश तथा सूचना प्रवाह गरिएको थियो ।

प्राधिकरणका अनुसार, मौसम पुनः प्रतिकूल भई अप्रत्याशित रूपमा भारी वर्षा हुँदा जलाशयको पानीको सतह बढ्ने दर तीव्र भएमा सूचना, आपत्कालीन साइरन तथा एसएमएसमार्फत सतर्क गराइनेछ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले कुलेखानी भरिँदा प्राधिकरणलाई राहत हुने बताए । “यसपटक पानी र बाढीले हामीलाई ठूलो क्षति गर्‍यो,” उनले भने, “चुनौतीमा पनि अवसर हुन्छ भनेझैँ पानी पर्दा कुलेखानी भरियो । यसले हामीलाई सुक्खायाममा राहत हुन्छ ।”

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार