काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन यही असोज १८ गतेका लागि सारिएको छ । असोज १६–१९ मा काठमाडौंमा हुने तय भएको महाधिवेशन १८ गतेका लागि सारिएको कांग्रेसले जनाएको छ ।
कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले महाधिवेशन दुई दिनपछि सारिएको जानकारी दिए । “नेपाली कांग्रेस १५औँ महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भई प्रदेशसभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न भइरहेका छन्,” दुलालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यसै बीचमा देशमा विभिन्न स्थानमा भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले गर्दा केही निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको जानकारी निर्वाचन समिति र पार्टीका तहगत कार्यसमितिबाट प्राप्त भएको छ ।” १५औँ महाधिवेशन उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे खुलामञ्चमा हुने कांग्रेसले जनाएको छ ।