काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । प्रसाईंलाई साइबर ब्युरोको टोलीले सोमबार बिहान पक्राउ गरेको हो । यसअघि भदौ २९ गते झापाबाट काठमाडौं फ्लाइटमार्फत त्रिभुवन विमानस्थल आइपुगेका उनले त्यहीँ कार्यक्रम गर्न खोजेका थिए । तर, उनलाई प्रहरीले विमानस्थल परिसरभित्र कुनै कार्यक्रम गर्न नमिल्ने भन्दै पक्राउ गरेर घर पठाएको हो ।
प्रसाइँले पछिल्ला दिनमा दिएका अभिव्यक्तिका सम्बन्धमा सोधपुछ गर्नका लागि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । रास्वपा सांसद रचना खतिवडा खत्रीले प्रसाइँलाइ कारबाहीको माग गरेकी थिइन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै दुर्गा प्रसाईंले लगाएका आरोपको खण्डन गर्दै भक्कानिएकी थिइन् ।
प्रसाईंले छोराको शवसँग सांसद पद साटेको आरोप लगाएका थिए । “सरकारले बाटो बिरायो भने जेनजी सहिदकी आमाले खबरदारी गर्नुपर्छ भनेर यहाँ आएकी हुँ,” बैठकमा भक्कानिइँदै उनले भनिन्, “सहिदले पूर्णरुपमा न्याय पाउँछन् भने मैले सांसद पदबाट राजीनामा दिन हिचकिचाहट हुँदैन । मलाई छोराको लाशमाथि सांसद पद साटेकी भन्ने आरोप लाग्यो । तपाईंहरुको छोराछोरी तपाईंहरुसँग छन् । मेरो संसार उजाडिएको छ । मेरो काख रित्तिएको छ । यो ठाउँमा उभिएर तपाईंहरु एकपल्ट हेरिदिनुहोला । छोरा मेरो काखमा आउँछ भने पद त्याग्न तयार छु ।”
उनले बोल्नुअघि हजारौँपल्ट सोचिदिन अनुरोध पनि गर्दे प्रसाइँलाइ कारबाहीको माग गरेकी थिइन् ।