काठमाडौं । अविरल वर्षाकाबीच सुन्दरीजलस्थित धाप बाँधमा कुनै समस्या नरहेको आयोजनाले जनाएको छ । बाँध पूर्ण रूपले सुरक्षित रहेको र अनर्गल प्रचारमा विश्वास नगर्न आयोजनाले सर्वसाधारणलाई सूचित गरेको छ ।
आयोजनाले सूचना जारी गर्दै भनेको छ,''मनसुनजन्य वर्षाका कारण बाँध र आसपासको क्षेत्रमा पानीको बहाव बढेपछि आयोजनाले नियमित निरीक्षण, अनुगमन तथा प्राविधिक व्यवस्थापनलाई तीव्र बनाएको बाँध पूर्णरुपमा सुरक्षित छ । अनर्गल प्रचारमा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गर्दछौँ ।''
आयोजनाले धाप बाँधको सामान्य तल सतह दुई हजार ८७.१४ मिटर रहेको बताएको छ । जलाशयमा सतहभन्दा बढी पानी भएमा स्वतः बाहिरिने प्रविधि रहेको आयोजनाले बताएको छ ।
स्याडल ड्याम्प-१ मा गएको पहिरोका कारण प्रतिसेकेन्ड करिब ४०० लिटर पानी निकास गरिएकाले कुनै जोखिम नरहेको आयोजनाको भनाइ छ । निरन्तरको निकासपछि जल सतह घटेर दुई हजार ८४.८० मिटरमा रहेको आयोजनाले जनाएको छ । वर्षा घटेसँगै बाँधमा पानीको मात्रा नियन्त्रणमै रहेको आयोजनाको जिकिर छ ।
बाँधमा निरन्तर प्राविधिक मूल्यांकन जारी रहेको र बाँधको संरचनामा कुनै जोखिम नरहेको आयोजनाले जनाएको छ ।