अरुण पटेल/रौतहट । रौतहटको गौर नगरपालिका–५ मा सुटकेसभित्र फेला परेको महिलाको शव सम्बन्धमा चौंकाउने खुलासा भएको छ। मृतकको परिचय रुबी साहको रूपमा खुलेको छ भने हत्या आरोपमा प्रहरी लक्ष्मण पासवानको खोजीमा जुटेको छ।
प्रहरी अनुसन्धान अनुसार रुबी साहको हत्या गौरमै एक डेरामा गरिएको हो। उक्त डेरामा माधवनारायण नगरपालिका–६, माधोपुरका लक्ष्मण पासवान डेरा गरी बस्दै आएका थिए। प्रारम्भिक अनुसन्धानमा पासवानले नै रुबीको हत्या गरी शव सुटकेसमा हालेर व्यवस्थापन गर्ने प्रयास गरेको खुलेको छ।
रिक्सा चालक पक्राउ, सुटकेस बोकेर हिँडेको पुष्टि
हत्या अनुसन्धानको क्रममा प्रहरीलाई महत्त्वपूर्ण सफलता मिलेको छ। शव व्यवस्थापन गर्न प्रयोग गरिएको ई–रिक्सासहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सो रिक्साचालकले सुरुमा घटना थाहा नभएको दाबी गरे पनि, उनले रुबीको शव रहेको सुटकेस गङ्गा पिपरा लैजाने सर्तमा ५०० रुपैयाँमा भाडा लिएको स्वीकार गरेका छन्। रिक्साको चक्का बिग्रिएपछि उनी फर्किएका र त्यसपछि पासवान सुटकेस बोकेर पैदलै अघि बढेको बताएका छन्।
प्रेम सम्बन्ध र विगतको विवाद
स्रोतका अनुसार मृतक रुबी साह र लक्ष्मण पासवानबीच विद्यालय जीवनदेखि नै प्रेम सम्बन्ध थियो। कक्षा १० मा पढ्दा भागेर विवाह गरेका उनीहरू परिवारको दबाबमा छुटेका थिए। यसकै सिलसिलामा पासवान केही समय हिरासतमा पनि परेका थिए। त्यसपछि उनी वैदेशिक रोजगारीमा गएका थिए र हालै मात्रै फर्किएका थिए।
चासोको कुरा के छ भने, लक्ष्मण पासवानको सामाजिक सञ्जाल, विशेषतः टिकटकमा, रुबीको शव राखिएकोजस्तै देखिने सुटकेससहितको भिडियो सार्वजनिक भएको छ।
हत्या किन र कसरी ?
हत्या किन र कसरी गरियो भन्ने यकिन कारण भने अझै खुल्न सकेको छैन। तर घटनाको दिन रुबी साह गौर नगरपालिका–५ स्थित एक ब्युटी पार्लर गएकी थिइन् र त्यसपछि पासवान बस्ने डेरातिर गएकी हुनसक्ने प्रहरीको आशंका छ। डेरामा मृतकको चप्पल र अन्य सामाग्री फेला परेका छन्।
फरार अभियुक्तको खोजी जारी
हत्या आरोपित लक्ष्मण पासवान हाल फरार छन्। प्रहरीले उनको खोजी तीव्र पारेको छ र अनुसन्धान गहिरो रूपमा अघि बढिरहेको जनाएको छ। घटनाबारे विस्तृत विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय गौरले जानकारी दिएको छ।