काठमाडौं । सुदूरपश्चिम प्रदेशका बलर हेमन्त धामी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता २०२६ मा सर्वाधिक विकेट लिने बलर बनेका छन् ।
हेमन्तले प्रधानमन्त्री कपको यस संस्करणमा २७ विकेट लिँदै सर्वाधिक विकेट लिने बलरको कीर्तिमान आफ्नो नाममा ल्याएका हुन् । यस क्रममा हेमन्तले १० इनिङमा ४३२ बल फ्याक्दै २८४ रन खर्चिए ।
प्रधानमन्त्री कप २०२६ : अर्जुन कुमाल सर्वाधिक रन बनाउने क्रिकेटर, कसले कति रन जोडे ?
प्रतियोगितामा एकै खेलमा डबल ‘ह्याट्रिक’ विकेट लिएका खेलाडीसमेत रहेका उनको इकोनोमी ३.९४ को रह्यो ।
यही प्रदर्शनका कारण हेमन्तले युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध आगामी सोमबार र मंगलबार हुने टी–२० क्रिकेट शृखंलाको निम्ति राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।
हेमन्तपछि, राष्ट्रिय टोलीका सदस्यसमेत रहेका सन्दीप लामिछाने यस संस्करण सर्वाधिक विकेट लिने सूचीको दोस्रो स्थानमा छन् । वाग्मती प्रदेशको कप्तानी सम्हालेका सन्दीपले २५ विकेट लिँदै दोस्रो सर्वाधिक विकेट लिने खेलाडी बनेका हुन् ।
एउटै खेलमा सात विकेटसम्म लिएर अब्बल प्रदर्शन गरेका उनले नौ इनिङ खेल्दा ४९४ बल फ्याक्दै ३६३ रन खर्चिए । सन्दीपको इकोनोमी ४.४० रह्यो ।
सुदूरपश्चिम प्रदेशका कप्तान शेर मल्ल सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा तेस्रो स्थानमा छन् । प्रधानमन्त्री कपको इतिहासमा आफ्नो कप्तानीमा सुदूरपश्चिमलाई पहिलोपटक फाइनलसम्म पुर्याएका शेरले यस संस्करण २३ विकेट लिए । उनले १० इनिङमा ५१६ बल फ्याक्दा ३६७ रन खर्चिए । शेरको इकोनोमी ४.२६ रह्यो ।
यस संस्करण स्पीनमा आफूलाई सक्षम प्रमाणित गरेका उनी उत्कृष्ट लयका कारण राष्ट्रिय टिममा दोस्रो पटक समेटिएका छन् । उनी यूएईविरुद्ध आगामी सोमबार र मंगलबार हुने टी–२० क्रिकेट शृखंलामा स्थान बनाउन सफल भए ।
शेरले भातरत र श्रीलंकामा गत मार्चमा सम्पन्न टी–२० विश्वकपमा नेपालबाट टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए ।
लुम्बिनी प्रदेशका सन्तोष यादव यस संस्करण सर्वाधिक विकेट लिने खेलाडीको सूचीको चौथो स्थानमा छन् । सन्तोषले २१ विकेट लिँदै यो कीर्तिमान कायम गरेका हुन् । लुम्बिनीबाट आठ इनिङ खेलेका उनले ३९६ बल फ्याक्दा २५९ रन खर्चिए । उनको इकोनोमी ३.९२ रह्यो ।
यस संस्करणको उपाधि विजेता विभागीय टिम त्रिभुवन आर्मी क्लबका अल–राउन्डर बसिर अहमद सर्वाधिक विकेट लिने पाँचौँ खेलाडी हुन् । आर्मीको ब्याटिङ र बलिङ दुवैमा ‘फिट’ देखिएका बसिरले १९ विकेट लिँदै सूचीको पाँचौँ स्थानमा आफ्नो नाम लेखाएका हुन् । उनले १० इनिङ खेल्दा ४३८ बल फ्याक्दै २८१ रन खर्चिए । उनको इकोनोमी ३.८४ रह्यो ।
विभागीय टिम त्रिभुवन आर्मी क्लबले फाइनलमा सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गर्दै प्रतियोगिताको यस संस्करण जितेको छ । योसँगै आर्मीले तेस्रोपटक प्रधानमन्त्री कपको उपाधि उचाल्यो । तेस्रो उपाधिको निम्ति आर्मीले वीरगन्जको नारायणी क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको १६२ रनको लक्ष्य ३४.२ ओभरमा ३४.३ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो ।