युवाहरूले दलका नेतामा सुधार नदेखेपछि टिकटकमा ‘एक्स्पोज झोले’ ट्रेन्ड सुरु

Nagarik Sewa 4387+ समाचार ( )
८ अशोज २०८२, बुधवार

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा ‘एक्स्पोज झोले’ ट्रेन्ड सुरु भएको छ । टिकटक प्रयोगकर्ताले राजनीतिक दलमा आबद्ध र पुराना दलका नेतानिकट व्यक्तिहरूको फोटो राख्दै यो ट्रेन्ड सुरु गरेका हुन् ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनअघि टिकटक प्रयोगकर्ताले ‘नेपोबेबी ट्रेन्ड’ चलाएका थिए । यसले पुराना दलका नेताहरूलाई खुलेर बाहिर हिँड्न असहज हुने परिस्थिति निर्माण भयो ।

यसैको पृष्ठभूमिमा जेनजी आन्दोलन चर्कियो । अन्तत: त्यो आन्दोलनले तत्कालीन एमाले-कांग्रेस गठबन्धन सरकार ढालिदियो । अझै पनि नेताहरूले नचेतेको र पुरानै प्रवृत्ति दोहोर्‍याएको भन्दै युवाले असन्तुष्टि व्यक्त गरेका छन् । यही कारण अब पार्टीनिकट व्यक्तिहरू (उनीहरूको भाषामा झोले) एक्पोज गरिनुपर्ने भन्दै नयाँ ट्रेन्ड सुरु भएको हो । ‘नेपो बेबी र करप्ट पोलिटिसियनहरूलाई एक्सपोज गरियो र देशमा ठूलो परिवर्तन आयो,’ कान्छा एफएफएक्स अफिसियल नामक टिकटक ह्यान्डलमा एक प्रयोगकर्ताले भनेका छन्, ‘अब नेपालमा फेरि नयाँ ट्रेन्ड सुरु भएको छ, जसको नाम रहेको छ- झोले ट्रेन्ड । जहाँ नेतासँग लिङ्क भएका र व्यक्तिगत रूपमा चिनजान भएकाको फोटो-भिडियो एक्सपोज गरिन्छ ।’

जति सकिन्छ नेताका झोलेहरूलाई पेल्न उनी आह्वान गर्छन् । यो गर्नुको कारण खुलाउँदै उनी थप्छन्, ‘यदि यिनीहरूलाई चिनेनौँ भने हामीलाई नै अप्ठ्यारो पर्छ । त्यसैले जति सकिन्छ यो ट्रेन्ड सबैले चलाऔँ ।’ यसरी चलाइएको ट्रेन्डमा अधिकांशको क्याप्सन देखिन्छ- माउथ ओपन, ब्रेन क्लोज झोले । र, पार्टीका झन्डा समाएर हिँडेका कार्यकर्ताको फोटो राखिन्छ । अनि, कमेन्टभरि देखिन्छ- सबैले ‘झोले, लेट्स एक्सपोज झोले’ भन्दै लेखिएको ।

टिकटक प्रयोगकर्ताले यो रिपोर्ट तयार गर्नुभन्दा एक घन्टाअघि भिडियो बनाउँदै भनेका छन्, ‘साथीहरू, झोले ट्रेन्ड बनाउने समय आयो है । लेट्स गो… ।’ त्यसपछि उनले ‘झोले ग्याङ’ भन्दै एउटा र्‍याप गीत राखेका छन् । सामाजिक रूपमा अपाच्य लाग्ने शब्द प्रयोग भएको उक्त गीतमा मोहन बस्नेत र उनका कार्यकर्ता सडकमा हिँडिरहेको भिडियो राखेका छन् । यसरी पोस्ट गर्दै टिकटक प्रयोगकर्ताले सबैलाई आफ्ना बुबा-ममीलाई सम्झाउन भनेका छन् । नत्र एक्सपोज हुने र परिवर्तनलाई कसैले रोक्न नसक्ने आसयका अभिव्यक्ति अधिकांशको सुनिन्छ ।

एमबीसी भ्लग्स नाम गरेको टिकटक ह्यान्डलबाट २१ घण्टाअघि एउटा भिडियो पोस्ट भएको छ, जसमा आफ्ना बुबा-ममीलाई सम्झाउन ती प्रयोगकर्ताले आह्वान गरेका छन् । ‘यसभित्र ज-जसका बा-आमा हुनुहुन्छ, आजै फोन गरेर सम्झाइहाल्नू,’ एमालेको एउटा र्‍यालीको भिडियो राख्दै उनले भनेका छन्, ‘विदेशमा हुनुहुन्छ वा कता हुनुहुन्छ, आजै फोन गरेर बा-आमालाई सम्झाइहाल्नू । अब पनि यसरी तपाईंका बा-आमा पार्टीको झन्डा बोकेर नेताको जयजयकार गर्दै हिँड्नुहुन्छ भने हाम्रो भविष्य बर्बाद हुन्छ ।’ यदि यही पार्टीका बुढा नेताहरू फेरि आए भने नयाँ पुस्ताले दु:ख पाउने भएकोले जतिसक्दो झोलेहरूलाई एक्सपोज गर्नुपर्ने उनको बुझाइ छ । आक्रोशित देखिएका उनी थप्छन्, ‘हैन, हाम्रा बा-आमा अझै किन बुझ्दैनन् ?’

यसरी एक्सपोज गरिनेमा सबैभन्दा धेरै टार्गेटमा छन्, एमाले नेता महेश बस्नेत । विभिन्न गीत र व्याङ्यात्मक क्याप्सन लेख्दै उनका तस्वीर र फोटाहरू सार्वजनिक गरिएका छन् । त्यस्तै, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, माओवादी नेता वर्षमान पुनलगायतका फोटो पनि राखिएका छन् ।

शीर्ष नेताहरूका आसपासमा कार्यकर्ताले खिचाएका फोटोलाई उनीहरूले प्राथमिकता दिएको देखिन्छ । पुराना दलका यी नेताका छेउछाउमा उभिएका कार्यकर्ता टिकटक प्रयोगकर्ताको निसानामा देखिन्छन् । यसरी राखिएका फोटो र भिडियोको पृष्ठभूमिमा गीत राखिएको छ- मनी, मनी मनी… । टिकटक प्रयोगकर्ता पल्लभ रेग्मीले पनि सामाजिक सञ्जालबाटै यो ट्रेन्डमा सहभागी हुन आह्वान गरेका छन् । उनले जेनजी आन्दोलनका क्रममा देखिएका दृश्य राख्दै स्क्रिनमा लेखेका छन्, ‘हामीले नेपोबेबी एक्सपोज गर्‍यौं । अब नेताको झोले एक्सपोज गर्ने ट्रेन्डमा सबैले साथ दिऔँ ।’

किन एकाएक यो ट्रेन्ड फैलियो त ? विशेषगरी मंगलबार बाक्लिएको यो ट्रेन्ड पछ्याउने अधिकांशको तर्क उस्तै सुनिन्छ । यत्रो परिवर्तनपछि पनि पुराना दलका कार्यकर्ताले आफ्नै शीर्ष नेताहरूको बचाउ गरिरहेकोमा आक्रोश सुनिन्छ । ‘झोलेहरू अझै भ्रष्ट नेताको बचाउमा छन् । स्टप ग्लोरिफाइङ क्रिमिनल्स, लेट्स एक्सपोज झोले,’ जेनजी नेपालमा नामक टिकटक ह्यान्डलमा लेखिएको छ । करिब एक घण्टाअघि मात्र भएको यो पोस्टलाई सबैले पछ्याउन थालेका छन् । यस्तै तरिकाको क्याप्सन र पोस्ट धेरैको देखिएको छ ।

पोस्टमा हालै भक्तपुरको गुण्डुमा एमाले अध्यक्ष पुगेपछि उनका कार्यकर्तासँग भएका फोटो-भिडियो पनि प्रयोग भएका छन् । उनीसँग फोटो खिचाउन लामबद्ध कार्यकर्ताका भिडियो राख्दै व्याङ्यात्मक शैलीका पोस्ट टिकटकमा देखिन्छ । यत्रा युवाले ज्यान गुमाउँदासमेत गम्भीर नदेखिएको र दल र नेताहरूले आफूलाई सुधार्ने छनक नदेखिएको भन्दै अधिकांशले यो ट्रेन्डलाई पछ्याइरहेका छन् ।

#jholey / #jholeytrend भन्दै टिकटकमा चलाइएको यो ट्रेन्डलाई शीर्ष स्थानमा ल्याउन आह्वान गर्दै ‘लअर विथआउट मनी’ नामक ह्यान्डलमा प्रयोगकर्ताले भनेका छन्, ‘यो ट्रेन्ड सुरु भइसकेको छ । अब यसलाई टपमा ल्याउन तपाईं र मेरो हातमा छ । सबैले आफूले चिनेका झोलेलाई यसरी नै पोस्ट गरौँ, ताकि यिनीहरूलाई बाटोमा अनुहार देखाउन पनि लाज होस् ।’

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार