काठमाडौं । पछिल्लो समय लगानीका लागि सुरक्षित मानिने सुनमा व्यवसायीहरु आकर्षित भइरहेका छन् । त्यही कारण नेपालमासमेत सुनको आयात बढेको छ । गत आर्थिक वर्षको तीन महिनामा सय किलो सुन आयात हुँदा चालु आर्थिक वर्षको सोही अवधिमा ६ सय किलो सुन आयात भएको भन्सार विभागको तथ्यांक छ ।
विभागका अनुसार १० अर्ब २५ करोड ३२ लाख रुपैयाँ बराबरको ६ सय १ किलो सुन आयात भएको छ । यसबाट सरकारले १ अर्ब २ करोड ५३ लाख रुपैयाँ राजस्व उठाएको विभागको तथ्यांक छ ।
गत आर्थिक वर्षको तीन महिनामा १ अर्ब ४ करोड ३२ लाख रुपैयाँको १ सय किलो सुन आयात भएको थियो । वाणिज्य बैंकहरुले काँचाे सुन आयात गर्छन् भने व्यवसायीहरुले उक्त सुन खरिद गरी गरगहना बनाई बेच्ने गर्छन् । गत असोजमा राष्ट्र बैंकले सुनको आयात कोटा दैनिक ५ किलो बढाइदिएको थियो । ‘आयात गर्न सकिने सुनको दैनिक परिमाण २० किलोलाई २५ किलोग्राम कायम गरिएको छ,’ राष्ट्र बैंकले भनेको छ ।
चालु आर्थिक वर्षको तीन महिनामा ७ करोड १५ लाख रुपैयाँको सुनका गरगहना आयात भएको छ । विभागका अनुसार गत आर्थिक वर्षको तीन महिनामा १४ करोड ७३ लाख रुपैयाँको सुनका गरगहना आयात भएको थियो ।
चालु आर्थिक वर्षको तीन महिनामा २० करोड १३ लाख रुपैयाँको १ हजार किलो चाँदी आयात भएको छ । यस्तै, १ अर्ब ६१ करोड ३४ लाख रुपैयाँको ८ हजार १ सय ३० किलो चाँदीको धुलो आयात भएको छ । गत वर्षको तीन महिनामा ७३ करोड १६ लाख रुपैयाँको ५ हजार ४६५ किलो चाँदीको धुलो आयात भएको थियो ।