काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई) ले संघीयतासम्बन्धी सबै विषय प्रधानमन्त्रीलाई सोध्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् । आइतबार पार्टीले ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
संघीयताको मर्मअनुसार काम नभएको भन्दै त्यस्तो स्थितिको अन्त्य हुनुपर्ने साम्पाङले बताए । उनले मुलुकमा विकास, निर्माणको काम गर्न कानुनमा तत्काल ठूलो परिवर्तन ल्याउन पनि सरकारलाई आग्रह गरे ।
विकास निर्माणको काम अघि बढाउन कानुनमा ठूलो परिवर्तन ल्याउन आवश्यक रहेको उनको भनाइ छ । उनले भौतिक पूर्वाधार मन्त्रालयले गरिरहेको काममा वन मन्त्रालयले रोक्न विरोधाभाष अवस्था विद्यमान रहेकाले त्यसमा सुधार गर्ने काममा सरकारले ढिलाइ गर्न नहुने बताए ।