काठमाडौं । नयाँ बनाउन लागिएको प्रतिनिधिसभा नियमावलीको मस्यौदामा बैठककक्षमा फोटो भिडियो खिच्न नपाइने व्यवस्था राखिएको छ । समितिले मंगलबार सभामुखलाई बुझाएको प्रतिवेदनमा नियम २० मा बैठकमा पालना गर्नुपर्ने नियमबारे उल्लेख छ । उपनियम ‘ट’मा भनिएको छ, “बैठककक्षमा फोन मौन अवस्थामा राख्नुपर्ने, फोनमा कुरा गर्न, फोटो खिच्न तथा अडियो र भिडियो रेकर्ड गर्न नहुने ।”
०७९ को नियमावलीमा फोटो, अडियो र भिडियो खिच्न नपाउने व्यवस्था थिएन । बैठककक्षमा फोन साइलेन्समा राख्नुपर्ने, फोनमा कुरा गर्न र रेकर्ड गर्न नहुने व्यवस्था राखिएको थियो । नियमावली समितिले बनाएको प्रतिवेदन प्रतिनिधिसभाबाट लागु भएपछि मात्रै कार्यान्वयमा आउनेछ ।