ताइवान वरिपरि चीनको गतिविधि बढ्ँदै

Nagarik Sewa 4387+ समाचार ( )
२४ कार्तिक २०८२, आइतबार

काठमाडौं । ताइवान र चीनबीचको तनाव फेरि बढेको छ । ताइवानको रक्षा मन्त्रालयका अनुसार, चीनले ताइवान वरिपरि १० चिनियाँ लडाकु विमान र १० नौसैनिक जहाजहरूको गतिविधि बढाएको छ । मन्त्रालयले आइतबार यसबारे जानकारी दिएको हो । रक्षा मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मा जानकारी सेयर गर्दै भन्यो, “आज बिहान ६ बजेसम्म ताइवान वरिपरि १० चिनियाँ लडाकु विमान र १० नौसैनिक जहाजहरूको गतिविधि रेकर्ड गरिएको छ । तीमध्ये चार विमानले ताइवान सामुद्रिक जलमार्गको मध्य रेखा पार गरी उत्तर र दक्षिण–पश्चिमी हवाई क्षेत्रमा प्रवेश गरेका थिए ।”

यसअघि शनिबार पनि ताइवानले आफ्नो सीमा वरपर १८ चिनियाँ लडाकु विमान, ७ नौसैनिक जहाज र १ सरकारी जहाज देखिएको जनाएको थियो । तीमध्ये १० विमानले ताइवानको उत्तरी, दक्षिण–पश्चिमी र पूर्वी हवाई क्षेत्रमा प्रवेश गरेका थिए ।

शुक्रबार भने चीनको तर्फबाट ३८ लडाकु विमान र ९ नौसैनिक जहाजसहित ताइवान वरिपरि हालसम्मकै ठूलो सैन्य गतिविधि रेकर्ड भएको बताइएको छ । तीमध्ये ३१ विमानले ताइवान स्ट्रेटको मध्य रेखा पार गरेका थिए ।

ताइवान स्ट्रेटको मध्य रेखालाई चीन र ताइवानबीचको एक महत्त्वपूर्ण अनौपचारिक सीमा मानिन्छ । तर, बेइजिङले पछिल्ला वर्षहरूमा यस सीमालाई बारम्बार उल्लङ्घन गर्दै ताइवानमाथि दबाब बढाउने रणनीति अपनाएको देखिन्छ । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानविरुद्ध कुनै पनि सैन्य कदम चालेमा त्यसको गम्भीर नतिजा भोग्नुपर्ने चेतावनी चीनलाई दिएका छन् ।

ट्रम्पले सीबीएसलाई दिएको एक अन्तर्वार्तामा भने, “यदि चीनले त्यस्तो कदम चाल्यो भने, उसलाई त्यसको परिणाम के हुनेछ भन्ने कुरा थाहा छ । मैले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटेँ र यस विषयमा कुरा भएन, किनभने यदि त्यस्तो केही हुन्छ भने, के हुनेछ भन्ने कुरा उहाँलाई राम्ररी थाहा छ ।” यद्यपि, ट्रम्पले आफ्नो रणनीतिको खुलासा गर्न इन्कार गर्दै भनेका छन्, “म मेरो अघिल्लो कदम गोप्य राख्न चाहन्छु ।”

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार