काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्दै आगामी निर्वाचन पछिल्ला उपलब्धिको रक्षा र प्रवर्द्धन गर्दै नयाँ सम्भावनातर्फ अघि बढ्ने युगीन आवश्यकता भएको बताएका छन् ।
पौडेलले निर्वाचन राजनीतिक इतिहासको एक जटिल परिस्थितिको निकासका रूपमा हुन गइरहेको बताए । "यो निर्वाचन केवल प्रतिनिधि चयन गर्ने संवैधानिक प्रक्रिया मात्र नभई संघीय लोकतान्त्रिक गणतन्त्रको यात्रालाई अझ व्यापक, विश्वसनीय र सुदृढ बनाउने ऐतिहासिक अवसर हो । त्यसैले यो निर्वाचनलाई सफल बनाउनु हाम्रो साझा काम र ऐतिहासिक दायित्व हो,” सम्बोधनमा राष्ट्रपति पौडेलले भने ।
उनले मतभिन्नता स्वाभाविक भए पनि सहिष्णुता, मर्यादा र विधिको शासनप्रति सम्मान साझा मूल्य हुनुपर्ने बताए । सम्बोधनका क्रममा पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई नवीन ढंगले परिभाषित गर्दै नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।
“यस निर्वाचनले निरंकुशताविरुद्ध लामो संघर्ष र बलिदान गरेको अघिल्ला पुस्ता र त्यसमा आफ्नो जीवन बलिदान गर्ने सहिदहरूको सपना, नवयुवाहरूको सुशासनको माग, पारदर्शिता र जवाफदेहिताप्रतिको अपेक्षा पूरा गर्नेछ," पौडेलले भने ।
\साथै, उनले संघीय शासन प्रणालीलाई संस्थागत गर्दै प्रदेश र स्थानीय तहसम्म अधिकार प्रत्यायोजन गरिएको सन्दर्भ समेत उल्लेख गरेका छन् । राष्ट्रपति पौडेलले यसबीचमा सामाजिक सुरक्षा कार्यक्रम विस्तार गर्दै ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरू, दलित, महिला तथा विपन्न समुदायको अधिकारलाई मजबुत बनाउने प्रयास सुरु भएको उल्लेख गरेका छन् ।
पछिल्लो दशकमा शिक्षा, स्वास्थ्य, सडक, ऊर्जा र सञ्चार पूर्वाधारमा उल्लेख्य प्रगतिका साथ देश अगाडि बढिरहेको पनि राष्ट्रपतिले बताएका छन् । "यी उपलब्धि सहजै प्राप्त भएका होइनन्, यी जनताको बलिदान र अटुट विश्वासका साथै उनीहरूको सक्रिय सहभागिताको परिणाम हुन्," पौडेलले भने ।
अझै पनि सुशासन, सामाजिक न्याय, उत्तरदायी शासन र सेवा प्रवाहका क्षेत्रमा अझ धेरै काम गनुपर्ने आश्यकता रहेको भनाइ राष्ट्रपति पौडेलको छ । फागुन २१ गते हुन गइरहेको निर्वाचनले यही भावधारालाई संस्थागत गर्दै लोकतन्त्रलाई नयाँ ऊर्जा प्रदान गर्ने पौडेलले उल्लेख गरेका छन् । सबै राजनीतिक दल, उमेदवार, नागरिक समाज, सञ्चारमाध्यम र सम्बन्धित निकायलाई निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न पूर्ण प्रतिबद्ध रहन पनि आफ्नो सम्बोधनमा आग्रह गरेका छन् ।