काठमाडौं । काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रका ‘अवैध’ संरचनामा डोजर चलाएको छ । धर्मशाला पुनर्निर्माण भइरहेको ठाउँमा भोजन सेवा प्रदान गरिँदै आएको संरचनामा शुक्रबार (वैशाख ४) डोजर चलाइएको हो । जय महाँकालका अध्यक्ष लीलानाथ भण्डारीले एक हजार ४५ दिनदेखि ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिँदै आएको ठाउँमा डोजर चलाइएको बताए । “हामीले २०७६ सालदेखि भोकालाई खाना, प्यासीलाई पानी अभियान चलाइरहेका थियौँ । आज मानवीय संवेदनाको समेत ख्याल नगरी डोजर चलाइएको छ,” उनले भने, “पहिलेका सदस्यसचिवसँगको सहकार्यमा सबै कागजपत्र बनाएर ४५ जिल्लामा विस्तार गरेका थियौँ । तर, आज एक्कासि हामीमाथि हातपात गर्दै डोजर चलाइयो ।”
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले अवैध संरचनामा डोजर चलाइएको जानकारी दिए । “अवैध रूपमा सञ्चालन हुँदै आएको संरचनामा डोजर चलाएका हौँ । अहिले सिनामंगल क्षेत्रमा काम भइरहेको छ,” उनले भने । काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख विष्णु जोशीले भोजनका नाममा धर्मशाला पुनर्निर्माणमा अवरोध भएपछि संरचना भत्काइएको बताए । “भोजनका नाममा पैसा उठाउने, भेला गर्नेलगायत कार्य हुँदै आएको थियो । त्यहाँ पशुपति क्षेत्र विकास कोषसँगको समन्वयमा धर्मशाला निर्माण भइरहेको छ,” उनले भने, “सो धर्मशाला निर्माणमा अवरोध भएपछि खाली गरेका छौँ ।”
पाँच दिनको ‘अल्टिमेटम’पछि त्यहाँ ठाउँमा डोजर चलाइएको महानगरले जनाएको छ ।