काठमाडौं। नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमार्फत देश जटिल अवस्थामा रहेको भन्दै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आह्वान गर्नुभएको छ। उहाँले आन्दोलनमार्फत अघि बढ्न आग्रह गर्नुभएको हो।
उहाँले भन्नुभएको छ– यतिखेर देशका सामु देखिएका जटिलता तथा जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्र माथि देखा परेका चुनौती हल गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रा सामु छ। राष्ट्रले भोगिरहेका समस्या र सङ्कटहरूको समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध सङ्गठन र इमानदार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव छ। यस सन्दर्भमा देशभक्त, प्रगतिशील, वामपन्थी सक्तीहरूबिच सङ्गठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक सक्तीहरूबिच राष्ट्रिय सहकार्य अपरिहार्य बनेको छ।
राष्ट्रिय स्वाधीनता, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवाद निर्माणको आधार तयार पार्न माओवादी सहितका वामपन्थी शक्तिहरूले एकता र साझा आन्दोलनमार्फत अघि बढ्नु आजको आवश्यकता रहेको पनि उहाँले उल्लेख गर्नुभएको छ।