काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थिति कोइराला निवासमा बुधबार पत्रकारसँग कुराकानी गर्दै नेपाली कांग्रेस र नेकपा एमालेले चाहेर मात्रै संविधान संशोधन गर्न नुहने बताउनुभएको छ । नेता कोइरालाले संविधान भन्नेबित्तिकै कांग्रेस-एमालेको मात्रै नहुने भएकोले सबैलाई समेटेरमात्रै संशोधन गर्न सकिने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘संविधान भन्नेबित्तिकै नेपाली कांग्रेस र एमाले मात्रै हुँदैन । नेपाली कांग्रेस र एमालेले सुरु गर्ने कुरा होला तर माओवादी, मधेशवादी दलहरू, राप्रपा, रास्वपा र अन्य सबैसँग सहमति गरेर अघि जानुपर्छ ।’
उहाँले संविधान सबैलाई पाच्य हुनुपर्ने बताउँदै दुई तिहाइ पुर्याएर संशोधन गर्दिन्छौं भन्नु गलत हुने बताउनुभयो। अहिले कांग्रेस-एमालेबीच अलिअलि छलफलमात्रै भएको भन्दै उहाँले यो सबैको माझमा जानुपर्ने, त्यतिकै नहुने बताउनुभयो। उहाँले संविधान संशोधनका बारेमा नागरिकले यो के हो के भइरहेको छ भनेर बोलिरहेको पनि बताउनुभयो ।