मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरीस्थित अदुवाबारीमा चोरको शंकामा प्रतिकार गर्दा मृत्यु भएका भरतकुमार भ्लोनका बाबुआमालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा आफ्नै बाबुआमाको कुटपिटबाट घाइते भएका भरतको उपचारको क्रममा चितवनस्थित भरतपुर अस्पतालमा गत शनिबार मृत्यु भएको थियो ।
मकवानपुर प्रहरीले उक्त घटनको अनुसन्धानका लागि भरतका बुबा ६४ वर्षीय मीनबहादुर भ्लोन र उनकी पत्नी ६३ वर्षीया देवीमाया भ्लोनलाई नियन्त्रणमा लिएको जनाएको छ । ‘घटनाको विषयमा अनुसन्धान गर्न उनीहरूलाई नियन्त्रणमा लिएका छौं ।’ प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले भने, ‘हिरासतमा राखेर घटनको बारेमा भ्लोन दम्पतीमाथि अनुसन्धान हुन्छ ।’
प्रवक्ता अर्यालले उनीहरूमाथि आफ्नै ३९ वर्षीय छोरा भरतको हत्या गरेको आरोप लागेको बताए । प्रहरीका अनुसार गत १५ फागुन बिहीबार राति घरमा चोरी गर्न आएको भन्दै भ्लोन दम्पतीले आफ्नै छोरा भरतमाथि घरेलु औजारले आक्रमण गरी गम्भीर घाइते बनाएका थिए । चोरी गर्ने उद्देश्यले घरभित्र छिरेका भरतले भ्लोन दम्पतीको आँखामा खुर्सानीको धुलो छरेको र उनीहरूबिच केहीबेर घम्साघम्सी भएको थियो ।