काठमाडौं । इरानले इसराइलमाथि दोस्रो चरणको हमला थालेको छ। इसराइलले शुक्रबार बिहान इरानका एक सय भन्दा बढी लक्ष्यहरूलाई निशाना बनाएर भीषण हमला गरेपछि इरानले पनि जबाफी हमला गरेको हो।
गएरातिदेखि इसराइलको राजधानी तेल अभिभ,जेरूसलेम, रमात गान लगायतका सहरलाई लक्ष्य गरेर क्षेप्यास्त्र प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यसलाई इरानले इसराइलमाथि गरेको जबाफी हमलाको दोस्रो चरण भनिएको छ। पहिलो चरणको हमला इरानले शुक्रबार बिहानै गरेको थियो।
इसराइलले दुई सय लडाकू विमानसहित अरू हवाई हतियार प्रयोग गरी इरानमा ठूलो भौतिक र मानवीय क्षति हुनेगरी हमला गरेको थियो।
त्यसको जबाफमा इरानले करिब एक सय ड्रोनले इसराइलमाथि प्रहार गरेको थियो। इसराइलको आकाश अत्यन्त सुरक्षित मानिन्छ त्यसकारण सय वटा ड्रोनहरूलाई पनि उसले सजिलै निष्क्रिय तुल्याएको थियो।
शुक्रबार रातिबाट भने इरानले इसराइलमाथि ठूलो परिमाणमा ब्यालिस्टिक मिसाइल, रकेट र ड्रोनहरूले हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
इसराइली डिफेन्स फोर्सले पनि इरानबाट प्रहार भएका एक सय भन्दा मिसाइलहरूलाई एयर डिफेन्स सिस्टमबाट नष्ट गरिएको भनेका छन्। साथै इसराइली आकाशमा इरानी ड्रोनहरू पनि देखिएको उसले बताएको छ।
‘इरानबाट प्रक्षेपण गरिएका मानवरहित हवाई साधन देखिएपछि इसराइलका अधिकांश स्थानहरुमा साइरन बजिरहेको छ,’ आइडिएफले जारी गरेको विज्ञप्तीमा भनिएको छ। अमेरिकी मिडिया सिएनएनका अनुसार इरानी हमलाका कारण इसराइलमा मारिनेको संख्या पनि बढिरहेको छ।
सिएनएनले आपतकालीन प्रतिक्रिया एजेन्सी म्यागेन डेभिड एडोमलाई उद्धृत गरेर तेल अभिभको दक्षिणमा रहेको रिशोन लेजियोनमा घरहरू नजिकै इरानी क्षेप्यास्त्र आक्रमणमा दुई जनाको मृत्यु भएको र १९ जना घाइते भएको उल्लेख गरेको छ।
योसँगै इसराइलमा इरानी हमलामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। यसअघि तेल अभिभको पूर्वी सहर रमात गानमा एक महिलाको मृत्यु भएको थियो। रमत गानको दान क्षेत्रमा इरानले प्रहार गरेको हतियारको ट्रक्रा खसेर ती महिलालाई लागेको सिएनएनले जनाएको छ।