काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनका लागि उम्मेदवारको टिकटमा विशेष महाधिवेशनबाट चुनिने सभापतिले हस्ताक्षर गर्ने बताउनुभएको छ। निर्वाचनका लागि बाँडिने टिकटमा सभापति शेरबहादुर देउवाको हस्ताक्षर चल्ने गरी आइतबार निर्वाचन आयोगमा दल दर्ता भएपछि उठेको सवालबारे प्रष्टीकरण दिँदै उहाँले यस्तो बताउनुभएको हो।
महामन्त्री थापाले सोमबार बिहानैबाट पार्टीका नेता–कार्यकर्ताहरूले आफूलाई सभापति देउवाकै हस्ताक्षरमा चुनावमा जाने विषयमा प्रश्न गरिरहेका बताउनुभएको छ। ‘बिहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ– पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो ?,’ उहाँले लेख्नुभएको छ, ‘मैले भने ? होइन । साथीहरूले फेरी सोध्नुभयो कसरी ? मैले भनेँ– प्रष्ट छ ।’
महामन्त्री थापाले विधानबमोजिम समयभित्रै विशेष महाधिवेशन हुने र निर्वाचित सभापतिको हस्ताक्षरमा पार्टी आगामी निर्वाचन लड्ने लेख्नुभएको छ।महामन्त्री थापाले विशेष महाधिवेशनको विकल्प नभएको भन्दै अलमलमा नपर्न पनि भन्नुभएको छ। ‘यही कारण हो हामीले निर्वाचन अगाडि नै महाधिवेशन भनेको,’ उहाँले लेख्नुभएको छ, ‘अब विशेष महाधिवेशनको विकल्प छैन । कुरा स्पष्ट छ, अलमलमा नपरौं ।’