काठमाडौं। हाल भौतिक रूपमा छपाइ भएर वितरण हुँदै आएको राष्ट्रिय परिचयपत्र कार्डलाई अब डिजिटल कार्डमा रूपान्तरण गर्न लागिएको छ। साथै सरकारले परिचयपत्रको छपाइ बन्द गर्ने तयारी गरेको छ ।
यसका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले कानुनी र प्रक्रियागत तयारी गरिरहेको विभागका महानिर्देशक युवराज कट्टेल बताउँछन्। राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन तथा छपाइको जिम्मा विभागको हो । अहिले छपाइ हुँदै आएको राष्ट्रिय परिचयपत्रमा चिप्स र क्युआर कोड दुवै प्रयोग गरिएको हुन्छ । चिप्सको लागि कार्ड छपाइ आवश्यक हुन्छ । तर, पछिल्लो समयमा चिप्सको काम समेत क्युआर कोडको सिस्टम आएपछि चिप्सको कार्ड छपाइ आवश्यक हुन छोडेकोले कार्ड छपाइ बन्द गर्ने तयारी गरेको कट्टेल बताउँछन् ।
अहिले राष्ट्रिय परिचयपत्रलाई डिजिटल परिचयपत्रमा रूपान्तरण गर्ने विषयमा स्वीकृतिका लागि विभागले गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ । उक्त स्वीकृति प्रक्रियासँगै विभागले आफ्नो डिजिटल कार्डका लागि प्राविधिक तयारीसमेत गरिरहेको महानिर्देशक कट्टेल बताउँछन् । अहिले राष्ट्रिय परिचयपत्रको नम्बर पाएका व्यक्तिले विभागकै सिटिजन पोर्टलमार्फत फोटो सहितको विवरण हेर्न सक्ने व्यवस्था उपलब्ध गराइएको छ । उक्त विवरणमा क्युआर कोड समावेश गरेर नम्बरका आधारमा जोकोहीले हेर्न सक्ने र आवश्यकताअनुसार प्रिन्ट गर्न सक्ने व्यवस्था गर्न लागिएको हो । यसबाट राज्यको खर्च घट्ने र नागरिकले पनि कार्डकै लागि सम्बन्धित निकायमा धाउनुपर्ने अवस्था अन्त्य हुने उनको भनाइ छ ।
अहिले नागरिक एपमार्फत क्युआर कोडसहितको राष्ट्रिय परिचयपत्र हेर्न मिल्ने व्यवस्था गरिसकिएको छ । यो मोबाइलमा मात्रै चल्ने भएकोले यसलाई प्रिन्ट गर्न मिल्दैन । सिटिजन पोर्टलमा दिइने कार्ड प्रिन्ट गर्न मिल्नेगरी डिजाइन गर्न लागिएको छ । चालु आर्थिक वर्षभित्रै यो सम्पन्न हुने र कार्डलाई डिजिटल बनाउने योजना रहेको महानिर्देशक कट्टेल बताउँछन् । अहिले एउटा कार्ड छपाइबापत २ युरो ९करिब ३०० रुपैयाँ० भन्दा धेरै खर्च लाग्ने गरेको छ । डिजिटल कार्ड बनेपछि यो खर्च बचत हुने उनको भनाइ छ ।
अहिले भारतले आधार कार्डमा यस्तै व्यवस्था गरेको छ । उक्त कार्डको विवरण सङ्कलन तथा बायोमेट्रिक गरेपछि नम्बर उपलब्ध गराइन्छ । त्यही नम्बरका आधारमा जुनसुकै पसलमा गएर पनि कार्ड प्रिन्ट गर्नसक्ने व्यवस्था छ । क्युआर कोडमार्फत् भारतले कार्ड छपाइमा ठुलो खर्च बचत गरेको भन्दै यहाँ पनि डिजिटल कार्डको तयारी गरिएको विभागले जनाएको छ ।
कार्डमा एउटा युनिक प्रकारको क्युआर कोड समावेश गरिन्छ । तर, त्यो क्युआर कोर्ड जोकोहीले स्क्यान गरेर हेर्न मिल्दैन । सम्बन्धित अधिकारप्राप्त व्यक्तिले प्रयोग गर्ने डिभाइसबाट स्क्यान गर्दा सम्बन्धित कार्यालयका लागि आवश्यक विवरण मात्रै देखिने व्यवस्था गरिएको कट्टेल बताउँछन् ।
‘हामीसँग व्यक्तिको सबै प्रकारको विवरण हुन्छ । हाम्रो सिस्टमले सबैको सम्बन्ध पत्ता पनि लगाउँछ । तर, सबैलाई त्यो उपलब्ध गराउन मिल्दैन, त्यो व्यक्तिको गोपनीयताको हकभन्दा बाहिरको कुरा हुन्छ,’ कट्टेल भन्छन्, ‘जसलाई जुन विवरण चाहिन्छ, त्यसलाई सम्बन्धित विवरण मात्रै देख्न मिल्नेगरी क्युआर कोड बनाइएको छ । तपाईं बैंकमा गएर क्युआर कोड देखाउनुहुन्छ भने त्यहाँ देखिने विवरण छुट्टै हुन्छ । मालपोतमा जानुभए छुट्टै होला । पासपोर्टमा जाँदा छुट्टै हुन्छ ।’