काठमाडौं । आगामी महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति पदमा सर्वसम्मत रूपमा चयन गर्ने तयारी गरिएको छ । शुक्रबार (असोज १६) पत्रकारहरूसँगको भेटघाटमा कांग्रेस प्रवक्ता देवराज चालिसेले यस्तो जानकारी गराएका हुन् ।
प्रवक्ता चालिसेले कुराकानीका क्रममा गगन थापाको नेतृत्वबारे अलिहेसम्म कुनै पनि पक्षबाट चुनौती नआएको दाबी गरे । चालिसेले भने, “अहिलेसम्म वर्तमान सभापति गगन थापालाई कसैले चुनौती दिएको अवस्था छैन ।’’ चालिसेका अनुसार सहमति र एकताको वातावरण तय गर्न सभापति थापा क्रियाशील भएका छन् । यस्तो अवस्थाले सर्वसम्मतिको सम्भावना बलियो बन्दै गएको छ ।
उनले सकेसम्म सहमतिमै नेतृत्व टुङ्गो लगाउने कांग्रेसको नीति रहेको पनि प्रश्ट गरे । सकभर सर्वसम्मत नेतृत्व चयन गर्ने र सम्भव नभए लोकतान्त्रिक प्रक्रियाको बाटो पनि रहेको चालिसेले बताए ।