१७ हजार फिट तल खस्दा पनि विमान कसरी भयो सुरक्षित अवतरण ?

Nagarik Sewa 4912+ समाचार ( )
१६ अशोज २०८३, शुक्रबार

काठमाडौं । इजारयलको तेल अभिवतर्फ जाँदै गरेको फ्लाई दुबईको विमानको ककपिटमा सह–पाइलटले आक्रमण गर्दा भारतीय पाइलट क्याप्टेन स्मित मछार घाइते भएका थिए । त्यसक्रममा विमान तीव्र गतिमा करिब १७ हजार फिट तल खसे पनि पुनः नियन्त्रणमा लिएर सुरक्षित अवतरण गर्न सफल भएको घटनालाई उड्डयन विशेषज्ञहरूले असाधारण मानेका छन् ।

घटना हुनुअघि विमान ३४ हजार फिटको उचाइमा थियो । ‘फ्लाइटरडार२४’ को तथ्यांकअनुसार विमान २९ सेकेन्डमै १४ हजार १२५ फिट तल खसेको थियो । विमानको कुल गिरावट करिब १७ हजार ४०० फिट थियो । त्यसपछि जमिनबाट यसको उचाइ १६ हजार ६०० फिट मात्र बाँकी थियो । तीव्र गिरावटका क्रममा विमानको पछाडिको भागमा रहेको रडरसमेत क्षतिग्रस्त भएको छ ।

यस क्रममा घाइते अवस्थामै पाइलटले विमान अपहरणको आपत्कालीन संकेत पठाएका थिए । त्यसको करिब एक घण्टापछि विमान बिहान ९ः४५ बजे साउदी अरेबियाको ताबुक विमानस्थलमा सुरक्षित रूपमा अवतरण गरिएको थियो । यति ठूलो उचाइबाट तीव्र रूपमा तल खसेको र पछाडिको भागमा क्षति पुगेको बोइङ ७३७ म्याक्स विमान कसरी सुरक्षित रूपमा अवतरण गर्न सफल भयो भन्ने विषयमा उड्डयन विशेषज्ञहरूले चासो व्यक्त गरेका छन् । उनीहरूले भारतीय पाइलटसहित विमानमा रहेका व्यक्तिहरूले अत्यन्त कठिन परिस्थितिमा विमानलाई नियन्त्रणमा लिन सफल भएको बताएका छन् ।

विमान सम्हाल्न पर्याप्त उचाइ बाँकी थियो

युनाइटेड एयरलाइन्सका पूर्वपाइलट तथा हवाई सुरक्षा विशेषज्ञ स्टिभ अरोयोले उक्त घटना अत्यन्त गम्भीर रहेको बताएका छन् । उनका अनुसार रडरमा अत्यधिक दबाब परेको हुन सक्ने भए पनि विमान टुक्राटुक्रा नभई नियन्त्रणमा रहनु असाधारण हो ।

विमानन विशेषज्ञ सनत कौलले फ्लाई दुबईमा भएको आक्रमण मानसिक रूपमा अस्थिर पाइलटले गरेको आत्महत्याको सम्भावित प्रयासजस्तो देखिएको बताएका छन् । अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) र संघीय उड्डयन प्रशासन (एफएए)का दुर्घटना अनुसन्धानकर्ता तथा उडान सुरक्षा विशेषज्ञ जेफ गुजेट्टीले विमान जमिनबाट १० हजार फिटको उचाइमा मात्र पुगेको भए त्यसलाई सम्हाल्न कठिन हुने बताएका छन् ।

उनका अनुसार तीव्र गिरावटपछि पनि विमानलाई पुनः माथि उठाउन सक्नुको मुख्य कारण त्यसबेला विमान नियन्त्रणमा लिन पर्याप्त उचाइ बाँकी हुनु हो । 

ककपिटभित्र राखिएको बञ्चरोले आक्रमण

विमानस्थलको सुरक्षा व्यवस्था कडा हुने भएकाले यात्रुले चक्कु वा अन्य तिखो वस्तु विमानभित्र लैजान पाउँदैनन् । तर, ककपिटभित्रै आपत्कालीन प्रयोजनका लागि बञ्चरो राखिने भएकाले सह–पाइलटले त्यही बञ्चरो प्रयोग गरी क्याप्टेन स्मितमाथि आक्रमण गरेको हुन सक्ने बताइएको छ । उड्डयन सुरक्षासम्बन्धी नियमअनुसार ककपिटमा आपत्कालीन अवस्थामा सिसा फुटाउन प्रयोग गर्न सकिने बञ्चरो राख्ने व्यवस्था हुन्छ ।

विमानभित्रै दन्तचिकित्सकले गरे उपचार

विमानमा क्याप्टेन स्मित मछारको प्राथमिक उपचार गरेका इजरायली दन्तचिकित्सक मुसायेभ शोताले इजरायली सञ्चारमाध्यमसँग घटनाको भयावह अवस्थाबारे बताएका छन् । उनका अनुसार स्मित रगतले लतपतिएका थिए । टाउको तथा हातमा गम्भीर चोट लागेको थियो । अत्यधिक रक्तस्रावका कारण उनको अवस्था नाजुक भए पनि उनी होसमै थिए र कुराकानी गरिरहेका थिए । स्रोतका अनुसार उनले स्मितको रक्तस्राव रोक्न सफल भएका थिए । स्मितले आफू ३९ वर्षको भएको र आफ्ना दुई सन्तानलाई सम्झिरहेको बताएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार