रुपन्देही। कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । उनी विद्युतीय अपराध (साइबर क्राइम) सम्बन्धी कसुरमा पक्राउ परेका हुन् ।
उनीविरुद्ध रुपन्देही जिल्ला अदालतले जेठ १ गते पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पूर्जी जारी भएपछि उनी केही दिन फरार भएका थिए ।
आज भने उनी आफैं हाजिर भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम् डीएसपी सुरज कार्कीले बताए । उनलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको छ। यौन शोषणमा परेकी एक युवती तथा उनको परिवारको गोपनीयता भङ्ग गरेको आरोप उनीमाथि लागेको छ। चौधरी लोसपाबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।