काठमाडौं। विभिन्न सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदन पेस गर्नुभएको छ। नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध आफूले शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको वरिष्ठ अधिवक्ता त्रिपाठीले बताउनुभयो। उहाँले भन्नुभयो , ‘मैले रिट निवेदन पेस गरेको छु । दर्ताको प्रक्रियामा छ ।’
सरकारको उक्त निर्णयले संविधान प्रदत्त मौलिक हक कुण्ठित भएको रिट निवेदकको जिकिर छ । संविधानले विचार, अभिव्यक्तिका साथै सञ्चारको स्वतन्त्रता प्रदान गरेको तर सरकारको उक्त निर्णयले जनताका ती संविधान प्रदत्त अधिकार कुण्ठित हुन पुगेको रिट निवेदनमा उल्लेख छ । रिट निवेदक त्रिपाठीले कुनै पनि सामाजिक सञ्जालको प्रयोग र सञ्चालनमा बाधा नपु¥याउन विपक्षीहरूको नाममा प्रतिषेधको आदेश माग गरेका छन् ।