काठमाडौं। राष्ट्रिय सभा सदस्य वामदेव गौतमले आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै नेपालमा समाजवाद निर्माण गर्न सकिने र समाजवाद निर्माणको समय तोकेर जिम्मेवारी दिए आफूले पूरा गर्ने बताउनुभएको छ । गौतमले समाजवाद ल्याउन नसकेको खण्डमा मृत्युदण्डका लागि तयार रहेको बताउनुभयो । उहाँले आजको आवश्यकता समाजवाद निर्माण गर्ने भएको बताउनुभयो ।
गौतमले अध्यादेश जारी गर्दा प्रतिपक्षलाई पनि साथमा लिनु राम्रो हुने बताउनुभएको छ। अहिले अध्यादेशले राजनीतिक माहोल तातेको भन्दै उहाँले अध्यादेश मुख्यतः राज्य सञ्चालन सत्ताधारी शक्तिलाई सकारात्मक सहयोग पुग्नेगरी निर्माण गरिएको संवैधानिक संरचना भएको बताउनुभयो । उहाँले प्रजातान्त्रिक परिपाटी उल्लंघन नहोस् भनेर अध्यादेश जारी गर्न धेरै सर्तहरू पूरा गर्नुपर्ने बताउनुभयो ।
गौतमले संविधानबमोजिम के कति सङ्ख्यामा अध्यादेश जारी गर्न सकिन्छ भन्ने विषयमा कुनै बार, बन्देज संविधानमा नरहेको बताउनुभयो। उहाँले अध्यादेश नानी बाबुहरूले घर पुतली खेले जस्तो विषय नभएको बताउनुभयो। गौतमले खिचडी राजनीतिलाई बहिष्कार गर्न सुझाव दिनुभयो ।