काठमाडौं । भक्तपुरको मनोहरा सुकुम्वासी बस्ती भत्काउन सुरु गरिएको छ । शनिबार (वैशाख १२) साँझ डोजर र प्रहरीमाथि ढुंगामुढा भएको थियो । आज (वैशाख १३) सोही बस्तीमा कडा सुरक्षा व्यवस्थाबीच डोजर चलाउन थालिएको छ । रातिको समयमा ढुंगामुढा प्रहार हुँदा भक्तपुरका डीएसपीसहित २२ सुरक्षाकर्मी घाइते भएका थिए । सरकारले तीन दिनअघि मात्रै उपत्यकाका सुकुम्वासी बस्तीलाई हटाउने निर्णय गर्दै बस्ती छोड्न माइकिङ गरेको थियो ।
शनिबार राति प्रहरीमाथि ढुंगामुढा भएपछि आज करिब १२ सयभन्दा बढी नेपाल प्रहरी, ६०० भन्दा बढी सशस्त्र प्रहरीको घेराभित्र १२ वटा डोजर चलिरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । त्यस्तै, ‘साइट’मा तीन स्थानीय तहका ३०० बढी नगरप्रहरीले संरचना भत्काउने काम गरिरहेको छ । काठमाडौं महानगरपालिकाको नेतृत्वमा कागेश्वरी मनोहरा नगरपालिका, भक्तपुर नगरपालिकाभित्र पर्ने सुकुम्वासी बस्ती बस्ती हटाउने काम भइरहेको हो । काठमाडौं नगरप्रहरी प्रमुख एवं एसपी विष्णु जोशीका अनुसार, करिब दुई हजार बढी सुरक्षाकर्मीको घेराभित्र १२ वटा डोजरले पक्की घरहरू भत्काउने काम गरिरहेका छन् । “हिजो (शनिबार) राति केहीले अवरोध गरे । आज सम्भावित जोखिमलाई मध्यनजर गर्दै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । बाक्लो प्रहरी घेराभित्र १२ वटा डोजरले पक्की घरहरू भत्काइरहेका छन्,” उनले भने ।
मनोहराको सुकुम्वासी बस्तीमा मात्रै ७७७ घरटहरा निर्माण भएका थिए । जोशीका अनुसार, आज कुनै अवरोध र रोकावट छैन । “अधिकांश सुकुम्वासीहरूले पक्की घर छोडेर हिजै हिँडिसकेका छन् । बाँकी रहेकाहरूलाई आज प्रहरीको सहयोगमा सार्ने काम भइरहेको छ,” जोशीले बाह्रखरीसित भने । जिल्ला प्रहरी परिसर भक्तपुरका इन्स्पेक्टर सुभेष अधिकारीका अनुसार, सो बस्तीमा अधिकांश घरहरू पक्की छन् । “मनोहराको बस्तीमा अधिकांश घरहरू पक्की छन् । हिजो राति पनि पक्की घरहरू भएकाले समय लाग्यो । आज पनि बिहानदेखि सुरु भएको छ । अधिकांश सुकुम्वासीहरूले सामान सारेर गइसकेका छन् । वास्तविक सुकुम्वासी बस्तीहरू सम्पर्कमा आइरहनुभएको छ,” उनले भने ।
प्रहरीका अनुसार, सुरक्षाकर्मीहरूलाई विभिन्न समूहमा विभाजन गरिएको छ । जसमा उद्धार टोली, संरचना हटाउने टोली र सुरक्षा दिने टोलीमा विभाजन गरिएको उनले बताए । शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आफ्नो फेसबुक पेजमा बर्खाको बेला आएको बाढीले बस्ती डुबान पारेको तस्बिर राख्दै सुकुम्वासीको उचित व्यवस्थापन गरिने र हालको बस्ती खाली गर्न अपिल गरेका थिए । त्यसपछि अधिकांश बस्तीबाट आफैँ सामान सार्न र बस्ती छाड्न थालेका थिए ।
शनिबार काठमाडौंको थापाथली र गैरीगाउँ क्षेत्रमा सुरक्षा टोलीले बस्ती खाली गराएको थियो । २०७९ मंसिर १२ गते थापाथलीस्थित सुकुम्वासी बस्ती पुग्दा ढुंगामुढा भएपछि ‘ब्याक’ भएका थिए । सुकुम्वासी बस्तीहरू हटाउने क्रममा ‘साइट’मै उनीहरूको व्यवस्थापन र राहत उपलब्ध गरिने प्रधानमन्त्री बालेनको सचिवालयले जनाएको छ ।
सरकारले शनिबार र आइतबार खाली गराइएका बस्तीमा वास्तविक सुकुम्वासीहरूलाई नागार्जुनस्थित आवास युनिट, कीर्तिपुरको सत्संगको ठूलो भवन, भक्तपुरस्थित बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा राख्ने योजना बनाएको छ । सोही योजनाअनुसार, सरकारको सम्पर्कमा आएका सुकुम्वासीहरूलाई सार्ने काम गरिरहेको छ । त्यस्तै, भक्तपुरको खरिपाटी र चाँदबागमा सरकारी भवन र खाली जग्गामा पनि अस्थायी बसोबासको व्यवस्था गरिने प्रधानमन्त्रीको सचिवालयको भनाइ छ ।