काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्ससँग लुम्बिनी लायन्स १ रनले पराजित भएको छ। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न खेलमा जनकपुरले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ८ विकेटको क्षतिमा १३५ रन मात्र बनाउन सक्यो । योसँगै लुम्बिनीले एनपीएल लगातार चौथो हार व्यहोरेको छ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए। त्यसैगरि टोम मुरेको नाममा ३१ रन रह्यो । उता अर्जुन साउदले २० र सन्दीप जोराले १६ रन बनाए ।
लुम्बिनीलाई चौथो हार चखाउने क्रममा जनकपुरका लागि हर्ष ठाकेर एक्लैले ५ विकेट लिए। किशोर महतो, ललित राजवंशी र शेर मल्लले १र१ विकेट लिए। एनपीएलमा लगातार चौथो जीत निकालेको जनकपुर ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ।