काठमाडौं । शुक्रबार रातभरि अमेरिकाले भेनेजुएलामा हवाई आक्रमण गर्यो यस क्रममा बिहान हुनुअघि राजधानी काराकासमा विस्फोटहरू भएका थिए । केही समयपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गर्दै अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरी अमेरिका लगेको बताए ।
अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले उनीहरूले लागुऔषध–आतंकवादमा संलग्नताको अभियोगमा न्यूयोर्कमा मुद्दा चलाउने बताइन् । शनिबार नयाँ अभियोगपत्र जारी गरिएको थियो । ट्रम्पले पछि आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा तस्बिर सेयर गरे, जसको क्याप्सन थियो, “निकोलास मादुरो यूएसएस इउ जिमा मा सवार ।”
यो आकस्मिक आक्रमण र कार्यरत राष्ट्रपतिको अप्रत्याशित पक्राउ भेनेजुएलाविरुद्ध अमेरिकाको तीव्र दबाब अभियान सुरु भएको महिनौँपछि भएको हो । सेप्टेम्बरदेखि अमेरिकी नौसेनाले भेनेजुएलाको तटमा ठूलो जहाजको समूह जम्मा गरेको छ र क्यारिबियन तथा प्रशान्त महासागरमा कथित ड्रग तस्करीका डुंगा तथा भेनेजुएलाका तेल ट्यांकरहरू कब्जा गरेको छ ।
मानवअधिकार समूहहरूका अनुसार डुंगाहरूमाथिका आक्रमणमा कम्तीमा ११० जना मारिएका छन्, जसलाई युद्ध अपराध हुन सक्ने आशंका गरिएको छ ।
यो सन् १९८९ मा पानामामाथि भएको आक्रमणपछि ल्याटिन अमेरिकामा अमेरिकाको सबैभन्दा ठूलो र प्रत्यक्ष कारबाही हो । यो द्रूत कारबाहीले अन्तर्राष्ट्रिय समुदायलाई स्तब्ध बनाएको छ भने अमेरिकाका मित्र र शत्रु दुवै विदेशी देशमा खुला हस्तक्षेपबाट चकित परेका छन् ।
अमेरिकाको फ्लोरिडास्थित मार–ए–लागोमा आयोजित प्रेस सम्मेलनमा ट्रम्पले नेतृत्व परिवर्तन नभएसम्म अमेरिकाले देश सञ्चालन गर्ने र अमेरिकी तेल कम्पनीहरू भेनेजुएलामा प्रवेश गर्ने दाबी गर्दै विश्वमा कुनै राष्ट्रले अमेरिकाले हासिल गरेको जस्तो गर्न नसक्ने बताए ।
भेनेजुएलामाथिको बमबारी र मादुरोको पक्राउ अमेरिकी अभियानको गम्भीर र नाटकीय घटनापछि भेनेजुएलाको सत्तारूढ शासनको भविष्य अनिश्चित छ । ट्रम्पको अमेरिकाले देशको भाग्य निर्धारण गर्ने भनाइका बाबजुद भेनेजुएलाको सेना देश र यसका सैन्य सम्पत्तिहरूको नियन्त्रणमा देखिन्छ ।
घटना यहाँसम्म कसरी आइपुग्यो ?
ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरु गरेपछि मादुरोलाई निशानामा राख्दै भेनेजुएलाको शासनविरुद्ध अधिकतम दबाब अभियान चलाएका छन् । उनले मादुरोलाई अमेरिकामा अस्थिरता फैलाउने गतिविधिमा संलग्न भएको आरोप लगाए, जसमा ड्रग तस्करी र अवैध आप्रवासन समावेश छन् । जुलाईमा अमेरिकाले विश्वका सबैभन्दा ठूला नार्को–तस्करमध्ये एक भनी आरोप लगाउँदै मादुरो पक्राउको लागि ५० मिलियन डलर इनाम घोषणा गरेको थियो ।
ट्रम्प प्रशासनले ट्रेन डे अरागुआ जस्ता भेनेजुएलाली गिरोहहरूलाई आतंकवादी संगठन घोषणा गरेको थियो र क्यारिबियन सागरमा कथित ड्रग तस्करहरूमाथि हवाई आक्रमण सुरु गरेको थियो । चाँडै अमेरिकाले भेनेजुएलाका ट्यांकरहरू कब्जा गर्न थाल्यो र दक्षिण अमेरिकी देश वरपरका जलक्षेत्रमा सैन्य उपस्थिति बढायो ।
ट्रम्पले भेनेजुएलामा शासन परिवर्तनको विचारसँग खुला रूपमा जिस्काए । नोभेम्बरको अन्त्यतिर ट्रम्पले मादुरोलाई देशबाहिर सुरक्षित मार्गको प्रस्ताव गर्दै सत्ताबाट हट्न अल्टिमेटम दिए । मादुरोले यो प्रस्ताव अस्वीकार गरे र भेनेजुएलाका समर्थकहरूलाई दासको शान्ति नचाहिएको भन्दै अमेरिकाले आफ्नो देशको तेल भण्डार नियन्त्रण गर्न चाहेको आरोप लगाए ।
ट्रम्प प्रशासनले दबाब बढाउँदै जाँदा काराकासको सरकार कहिलेकाहीँ आत्तिएको जस्तो देखिन्थ्यो । मादुरोले बारम्बार भेनेजुएलाले अमेरिकासँग युद्ध नचाहेको बताए । एकपटक उनले भेनेजुएलाली विद्यार्थीहरूसामु ‘नो वार, येस पिस’ गीतमा नाच्दै ट्रम्पको डबल–फिस्ट पम्पिङ नाचको नक्कलसमेत गरेका थिए । पक्राउ हुनु दुई दिनअघि, मादुरोले टेलिभिजन अन्तर्वार्तामा देशको तेल क्षेत्रमा अमेरिकी लगानी स्वागत गर्ने बताएका थिए ।
अमेरिका र भेनेजुएला किन द्वन्द्वमा छन् ?
अमेरिका र भेनेजुएलाबीचको सम्बन्ध सन् १९९९ मा ह्युगो चाभेज राष्ट्रपति बनेपछि तनावपूर्ण बनेको हो । स्वघोषित समाजवादी र साम्राज्यवादविरोधी चाभेजले अफगानिस्तान र इराकमा अमेरिकी आक्रमणको विरोध गर्दै क्युबा र इरानजस्ता देशहरूसँग गठबन्धन बनाएपछि अमेरिकालाई रिसाउने बनाए । चाभेजले अमेरिका लाई सन् २००२ को कू–प्रयाससँग जोडेर हेरेपछि सम्बन्ध झन् बिग्रियो ।
भेनेजुएलाको समाजवादी वैचारिक धारका कारणले अमेरिकाका लागि, विशेष गरी रिपब्लिकन पार्टीको कठोर धारका समर्थकहरूबीच, क्युबासँगै स्वाभाविक शत्रु बनेको छ ।
चाभेजले सत्ता सुदृढ गर्दै राजनीतिक विपक्षीहरूलाई दमन गरे र देशको निजी क्षेत्रको ठूलो हिस्सा अधिग्रहण गरेपछि अमेरिकाले भेनेजुएलाको कमजोर मानवअधिकार अवस्थाको निन्दा गर्यो । वर्षौंसम्म विशेष गरी सन् २०१३ मा मादुरो सत्तामा आएपछि सम्बन्ध झन् खराब हुँदै गयो ।
ट्रम्प प्रशासनले मादुरो सरकारलाई अवैध भनेर चित्रण गरेको छ र सन् २०१९ मा संसद्का सभामुख जुआन ग्वाइडोलाई भेनेजुएलाको राष्ट्रपति मान्यता दिएको थियो ।
जुलाई २०२४ मा मादुरोले राष्ट्रपतीय निर्वाचनमा भारी हार बेहोरेको देखियो साथै उनको बढ्दो अधिनायकवादी शासन र आर्थिक संकटप्रति व्यापक रोष प्रकट भएको थियो । बाइडेन प्रशासनले विपक्षी उम्मेदवार एडमुन्डो गोनजालेजलाई विजेता मानेको थियो ।
विपक्षीले सार्वजनिक गरेको विस्तृत मतदान तथ्यांक र स्वतन्त्र विज्ञहरूले प्रमाणित गरेअनुसार गोनजालेजले जितेका थिए, तर मादुरोले कडा दमन गर्दै सत्ता कायम राखे ।
डिसेम्बरको सुरुमा ट्रम्प प्रशासनले ‘ट्रम्प कोरोलरी’ प्रकाशित गर्यो, जसअनुसार पश्चिमी गोलार्धलाई अमेरिकाले राजनीतिक, आर्थिक, व्यावसायिक र सैन्य रूपमा नियन्त्रण गर्नुपर्ने उल्लेख छ ।
नयाँ ट्रम्प सिद्धान्तअन्तर्गत ऊर्जा र खनिज स्रोतहरू प्राप्त गर्न अमेरिकी सेना प्रयोग गर्न सकिने भनिएको छ ।
मादुरो पक्राउपछि आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले १९औँ शताब्दीको मोनरो सिद्धान्तको स्मरण गर्दै ल्याटिन अमेरिकामा अमेरिकी सैन्य प्रभुत्वको दाबी गरे । यसलाई ‘डन–रो सिद्धान्त (डक्ट्रिन)’ भन्दै उनले ‘पश्चिमी गोलार्धमा अमेरिकी प्रभुत्वलाई फेरि कहिल्यै प्रश्न नगरिने’ बताए ।
को हुन् निकोलास मादुरो र ट्रम्पले किन पक्राउ गरे ?
मादुरो सन् २०१३ देखि भेनेजुएलाका राष्ट्रपति छन् । पूर्व बस चालक मादुरो चाभेज सरकारअन्तर्गत विदेशमन्त्रीका रूपमा उदाएका थिए र चाभेजको मृत्युपछि राष्ट्रपति बने ।
मादुरोको शासनलाई तानाशाही मानिन्छ । संयुक्त राष्ट्रसंघले सन् २०१९ सम्म २० हजारभन्दा बढी भेनेजुएलालीहरू गैरन्यायिक हत्यामा मारिएका हुन सक्ने बताएको थियो । साथै न्यायपालिका जस्ता प्रमुख संस्थाहरू मादुरोको नियन्त्रणमा गएका छन् र कानुनको शासन कमजोर भएको बताइएको छ भने उनको शासनकालमा अमेरिकासँगको सम्बन्ध पनि झन् बिग्रिएको छ ।
हालका महिनाहरूमा ट्रम्पले मादुरोलाई सत्ताच्यूत गर्न बारम्बार आह्वान गर्दै उनलाई अमेरिकामा ड्रग र अपराधी पठाउने आरोप लगाएका थिए जसलाई विज्ञहरूले अप्रमाणति आरोप भनेका छन् । उनले मादुरोले अमेरिकी तेल चोरी गरिरहेको दाबी पनि गरेका थिए ।महिनौँसम्म चलेको चर्को बयानबाजीका बावजुद शनिबारको पक्राउले भेनेजुएलाली अधिकारीहरूलाई चकित बनाएको छ ।
अब के हुन्छ ?
भेनेजुएलाका रक्षामन्त्रीले लड्ने प्रतिज्ञा गरेका छन् र विदेशी आक्रमण विरुद्ध प्रतिरोध गर्न नागरिकहरूलाई एकजुट हुन आह्वान गरेका छन्, अमेरिकाविरुद्धको प्रतिरोधलाई स्वतन्त्रताको लडाइँ भनेका छन् ।
मादुरो पक्राउ परे पनि भेनेजुएलाका संस्था र सेना जस्ताको तस्तै देखिन्छन् । शनिबारको आक्रमण व्यापक द्वन्द्वको सुरुवात हो कि एकल कारबाही मात्र हो भन्ने स्पष्ट छैन, किनकि ट्रम्पले भविष्यमा थप सैन्य कारबाहीको अधिकार आफूले राखेको बताएका छन् ।
भेनेजुएलाका विपक्षी नेताहरू, विशेष गरी नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना म्याचाडोले ट्रम्पलाई देशमा विपक्षी समूहको समर्थन गर्न आह्वान गरेका छन् ।
तर, के स्पष्ट छ भने अमेरिका सैन्य बल वा अन्य माध्यमबाट भेनेजुएलामा ठूलो भूमिका खेल्न दृढ छ । ट्रम्पले शनिबार भने, भेनेजुएलाको भविष्य के हुने भन्ने निर्णय अमेरिकाले गर्नेछ ।
“हामी अरूलाई सञ्चालन गर्न र उसले छोडेको कुरा कब्जा गर्न दिन सक्दैनौँ,” ट्रम्पले भने । उनले म्याचाडोले सत्ता सम्हाल्ने सम्भावना विचार गरिरहे पनि अहिले उपराष्ट्रपतिले जिम्मेवारी सम्हालेको बताए ।
ट्रम्पले अमेरिकाले भेनेजुएला सञ्चालन गर्ने भन्नुको अर्थ स्पष्ट थिएन, किनकि राजधानी कब्जा गरिएको संकेत थिएन र देशभरका सैन्य अड्डामा भेनेजुएलाली सैनिकहरू आफ्नो स्थानमै थिए ।
ट्रम्पले अमेरिकी स्थलीय सेना पठाउने सम्भावना अस्वीकार नगरे पनि मादुरो पक्राउपछिका घण्टाहरूमा आएका विपक्षी समूहका वक्तव्यहरूसँग ठाडो विपरीत भेनेजुएलाली अधिकारीहरू आफ्ना मागमा अडिग देखिन्छन् ।
यसअघि अमेरिकाले युद्ध अभ्यासहरू गरेको थियो, जसले भेनेजुएलाको नेतृत्व टाउको काटिएको परिदृश्यको अनुकरण गर्थ्यो । ती सिमुलेसनहरूले लामो अराजकता, भेनेजुएलाबाट शरणार्थी पलायन र प्रतिद्वन्द्वी समूहहरूबीच देश नियन्त्रणका लागि संघर्षको भविष्यवाणी गरेका थिए ।