जनकपुरधाम । सर्लाहीमा खटिएका एक मतदान अधिकृतको निधन भएको छ । मंगलबार (फागुन १९) दिउँसो करिब २ बजे अचानक बेहोस भएका ४२ वर्षीय रघुनाथ महतोको उपचारका क्रममा मृत्यु भएको हो ।
सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्र बरहथवामा कार्यरत महतो पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालय जिगडवामा मतदान अधिकृतका रूपमा खटिएका थिए ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सरोज राईका अनुसार, अचानक बेहोस भएका महतोलाई प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो । दिउँसो करिब साढे २ बजे अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।