एसियाली विकास बैंकले नेपाललाई १० करोड अमेरिकी डलर बराबरको ऋण दिने

Nagarik Sewa 4387+ समाचार ( )
२ पौष २०८२, बुधवार

काठमाडौं। एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई १० करोड अमेरिकी डलर (१४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ) बराबर सहुलियतपूर्ण ऋण दिने भएको छ । सार्वजनिक वित्त व्यवस्थापनको सबलीकरणका लागि यस्तो ऋण सहायता दिने सम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा आज सम्झौता भएको हो ।

यस्तो सहायता नीतिमा आधारित ऋणका रूपमा उपलब्ध गराइएको अर्थले जनाएको छ । यो ऋण सहायताको ग्रेस अवधि ८ वर्षसहित भुक्तानी अवधि २४ वर्षको हुनेछ । सन् २०३४ फेब्रुअरी १ सम्म ग्रेस अवधि रहेको ऋणको ग्रेस अवधिसम्म ब्याजदर १ प्रतिशत हुने र त्यसपछि १.५ प्रतिशत रहने छ ।

ऋण सम्झौतामा अर्थ सचिव डा. घनश्याम उपाध्याय र एडीबीको नेपालस्थित आवासीय नियोगका निर्देशक आनो कुश्वाले हस्ताक्षर गर्नुभयो। कार्यक्रममा  सहसचिव डा. धनीराम शर्माले नेपालको खर्च तथा वित्तीय व्यवस्थापन र अन्तरसरकारको स्रोत व्यवस्थापनमा सुधार गर्ने यस कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो। एडीबीका नेपाल निर्देशक कुश्वा तथा अर्थ सचिव उपाध्यायले सहकार्यलाई निरन्तर र थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसले वित्तीय अनुशासन कायम राख्न, बजेट निर्माण तथा खर्च व्यवस्थापन सुधार गर्न, स्थानीय सरकारलाई थप सबलीकरण गर्न र समग्र विकास परिणाम नतिजामुखी बनाउने अपेक्षा गरिएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले बताउनुभयो।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार