भूकम्प अघि जिल्ला प्रहरी परिसर रहेको हनुमानढोकाको भवन भत्काइने

Nagarik Sewa 4387+ समाचार ( )
२२ श्रावण २०८२, बुधवार

काठमाडौं। २०७२ सालको भूकम्प अघि जिल्ला प्रहरी परिसर, काठमाडौं बस्दै आएको भूकम्पले जिर्ण भएको हनुमानढोकाको भवन भत्काइने भएको छ। काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र नेपाल प्रहरीका महानिरीक्षक दिपक थापाबीच भएको भेटपछि रातो स्टिकर लगाइएको भवन भत्काउने निर्णय भएको महानगरले जनाएको छ ।

मेयर शाहको सचिवालयका अनुसार, ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारी समेत उपस्थित छलफलमा २ रोपनी क्षेत्रमा रहेको त्यो भवन भत्काएर मच्छिन्द्रनाथको रथ राख्ने परम्परागत पोखरी पुनर्निर्माण गर्ने विषयमा छलफल भएको थियो ।

त्यसक्रममा उक्त स्थानमा सांस्कृतिक सम्पदाको संरक्षणका लागि पोखरी पुनर्निर्माणलाई प्राथमिकता दिने निर्णय भएको छ । ‘हनुमानढोका क्षेत्रको सांस्कृतिक महत्वलाई जोगाउन र मच्छिन्द्रनाथको रथ राख्ने परम्परालाई कायम गर्न दिन यो पोखरी निर्माण आवश्यक छ,’ मेयर शाहले भन्नुभयो।

यस्तै बैठकमा तत्कालीन नगर पञ्चायतको नाममा रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयको जग्गामा ट्राफिक टावर र आवश्यक भवन निर्माण गर्ने विषयमा पनि छलफल भएको बताइएको छ। यसका लागि लेआउट तयार गर्न नेपाल प्रहरीका इन्जिनियर रामकुमार चौधरी र महानगरका इन्जिनियर सन्तोष पाण्डेलाई जिम्मेवारी दिइएको छ ।

मेयर शाहलाई उद्धृत गर्दै उनको सचिवालयले भनेको छ, ‘स्रोत साधन सम्पन्न पूर्वाधारले नागरिकलाई प्रदान गरिने सेवा प्रवाहमा सुधार ल्याउँछ । ट्राफिक व्यवस्थापन र शान्ति सुरक्षाका लागि यस्ता भवनहरू महत्वपूर्ण छन् ।’


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार