काठमाडौं। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मधेस प्रदेशलाई ३ महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मधेस प्रदेशका जिल्लाहरूमा यो वर्ष अनावृष्टिका कारण जमिनमा पानीको कमीले खानेपानी तथा सिँचाइ प्रणालीमा समेत प्रभाव परेको छ। यसअघि मधेस प्रदेश सरकारले पनि प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
उक्त निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए। विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐनको दफा ३२ बमोजिम राजपत्रमा सूचना प्रकाशित भएको मितिले तीन महिनाका लागि मधेस प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने र सोको सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको छ ।
भूमिगत पानीको मुहानको चरम अभाव हुनका साथै नदी तथा पोखरीमा समेत पानी सुकेको छ । जसका कारण मधेस प्रदेशका आठवटै जिल्लामा खानेपानी र सिँचाइ प्रणालीमा प्रभाव परेकाले प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको सरकारले जनाएको छ ।
अव सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३२ को उपदफा १ बमोजिम राजपत्रमा सूचना प्रकाशित गर्नेछ । उक्त सूचना प्रकाशित भएको मितिले ३ महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा हुनेछ ।