काठमाडौं । दसैँतिहारका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुला गरिने भएको छ । यातायात व्यवस्था विभागमा मंगलबार बसेको व्यवसायीलगायत सरोकारवाला निकायको संयुक्त बैठकले चाडपर्वलाई लक्षित गरी असोज २३ गतेदेखि लामो तथा मध्यम दुरीका सवारीसाधनका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।
बैठकले फूलपातीदेखि पूर्णिमासम्मका लागि रिजर्भ गाडीहरू तथा लामो/मध्यम दुरीका सवारीसाधनलाई नेपालभरका लागि रुट–परमिट खुला गर्ने निर्णय गरेको यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले जानकारी दिए ।
चाडपर्वको अवधिमा सडकमा यातायातको चाप कम गर्न फलफूल, तरकारी, औषधि, खाद्यान्न, खसीबोका जस्ता अत्यावश्यक सामग्री बोक्ने गाडीहरूलाई मात्र प्राथमिकता दिइने निर्णय भएको उनले बताए । “यात्रुहरूलाई ठगिन वा कालाबजारी हुन नदिन र भाडादरमा पारदर्शिता कायम गर्न प्रमुख नाका तथा स्टेसनहरूमा सहायता कक्ष राखिनेछ,” उनले भने ।
त्यस्तै, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले दशैँ लगायतका चाडपर्वका समयमा सार्वजनिक सवारीसाधनको भाडादर वृद्धि नहुने र पूर्वनिर्धारित भाडामा नै आवातजावतको व्यवस्था गर्न प्रतिबद्ध रहेको बताए । वर्षा र प्राकृतिक प्रकोपका कारण धेरै ठाउँमा बाटो बिग्रिएकाले जोखिम मोलेर कुनै पनि सवारीसाधन नचलाउन चालकहरूलाई आग्रह गरिएको उनले बताए ।
सिटौलाले बीपी राजमार्गको चाप कम गर्न र सहज बनाउन दुईपांग्रे लगायतका गाडीहरूलाई कान्तिपथ वा अन्य वैकल्पिक मार्गबाट पठाउने जस्ता व्यावहारिक कुराहरूमा छलफल भएको उल्लेख गरे ।