काठमाडौं । राज्यव्यवस्था एवं सुशासन समितिका सत्ता पक्षका सांसदहरु आज प्रधानमन्त्रीलाई भेट्न नजाने भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्टाचार निवारणसम्बन्धी संसदीय उपसमितिको प्रतिवेदनमा चासो राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान १० बजे समितिमा रहेका सत्ता पक्षका सांसदहरुलाई बालुवाटार बोलाएको समाचार सार्वजनिक भएको थियो ।
तर आज भने सात्ता साझेदार नेपाली कांग्रेसका नेतासमेत रहेका समिति सभापति रामहरि खतिवडाले प्रधानमन्त्रीलाई भेट्न आज नजाने बताए ।
उनले अनलाइनखबरसँग भने, ‘सांसदहरुले प्रधानमन्त्रीलाई भेट्न जाने कुरा ठूलो होइन, तर हामी आज जाँदै छैनौं ।’
समितिका सदस्य एवम् नेकपा एमालेका नेता रघुजी पन्तले पनि आफूहरुले आज प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम नरहेको बताए ।
हृदयराम थानी संयोजकत्वको उपसमितिले भ्रष्टाचार निवारण ऐनको
संशोधन विधेयक र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको संशोधन विधेयक सम्बन्धी प्रतिवेदन समितिमा बुझाएको थियो । सो प्रतिवेदनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप शक्तिशाली बनाउने लगायतका व्यवस्था प्रस्तावित छन् ।