किशोरीमाथि बलात्कारको अभियोगमा बालगृहका प्रमुख अधिकृत पक्राउ

Nagarik Sewa 4387+ समाचार ( )
२९ आश्विन २०८२, आइतबार

काठमाडौं। मकवानपुरको कैलाश गाउँपालिका–३ मा सञ्चालित एक बालगृहमा आश्रय लिएकी १७ वर्षीया किशोरीमाथि पटक–पटक बलात्कार गरेको अभियोगमा बालगृहका प्रमुख अधिकृत पक्राउ परेका छन्। सांग्रिला डेभलपमेन्ट एसोसिएसनद्वारा सञ्चालित बालगृहका ४८ वर्षीय प्रमुख मधुसूदन राउतलाई प्रहरीले काठमाडौंको काँडाघारी क्षेत्रबाट शुक्रबार दिउँसो पक्राउ गरेको हो । 

पीडित किशोरी ४ वर्षदेखि सो बालगृहमा बस्दै आएकी थिइन् । उनका बाबुको केही वर्षअघि दुर्घटनामा मृत्यु भएको थियो भने आमा सम्पर्कविहीन छिन् । उनी मामाघरको हजुरआमासँग बस्दै आएकी थिइन् र कमजोर आर्थिक अवस्थाका कारण बाल संरक्षणको उद्देश्यले खोलिएको सो होस्टेलमा राखिएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार राउतलाई शनिबार मकवानपुर ल्याइएको छ र आइतबार म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइनेछ।

किशोरीले दिएको जाहेरी अनुसार जेठ १ देखि ८ गतेसम्मको अवधिमा राउतले बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेका थिए । असार ८ गते किशोरीले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राउतविरुद्ध जाहेरी दर्ता गरेकी थिइन् । तर, प्रारम्भिक समयमा राउत पक्राउ परेका थिएनन् ।

बालगृहमा हाल १५ जना बालिकाहरू रहेका छन् । घटना सार्वजनिक भएपछि बालगृहको व्यवस्थापन, सुरक्षा स्थिति तथा सञ्चालन प्रक्रिया प्रश्नको घेरामा परेको छ । प्रहरीले बालगृहमा रहेका अन्य बालबालिकाको अवस्थाबारे पनि थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार