पत्रकार महासङ्घ काठमाडौँले बुझायो सञ्चारमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षण

Nagarik Sewa 4387+ समाचार ( )
१३ जेठ २०८२, सोमबार

काठमाडौं ।  नेपाल पत्रकार महासङ्घ काठमाडौँले सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । २०८२ जेठ १२ गते सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पुगी सचिवमार्फत ध्यानाकर्षणपत्र बुझाइएको हो ।

ध्यानाकर्षणपत्र बुझाउन गएको प्रतिनिधिमण्डलमा पत्रकार महासङ्घ काठमाडौँको कार्यसमितिका साथै अन्य सरोकारवाला प्रतिनिधिको सहभागिता रहेको थियो । सञ्चारमन्त्रीलाई बुझाइएको ध्यानाकर्षणपत्रमा वर्गीकरण गरिएका पत्रपत्रिकालाई दिइँदै आएको लोककल्याणकारी विज्ञापन दोब्बर रकमको बनाइनुपर्ने, अनलाइन सञ्चारमाध्यमलाई पनि लोककल्याणकारी विज्ञापन दिइनुपर्ने र पत्रकार महासङ्घसहित सरोकारवालासँग परामर्श गरी मिडिया काउन्सिल विधेयक दर्ता गरिनुपर्ने माग गरेको छ ।

त्यस्तै, ज्येष्ठ, महिला, दलित, आदिवासी जनजाति, अल्पसङ्ख्यक पत्रकारको संरक्षणका लागि विशेष कार्यक्रम बनाइनुपर्ने, लोककल्याणकारी विज्ञापनमा विज्ञापन बोर्डले लगाउने कर हटाइनुपर्ने, १५ वर्षभन्दा बढी समयदेखि निरन्तर प्रकाशित पत्रपत्रिकालाई निःशुल्क टेलिफोन र इन्टरनेटको व्यवस्था गरिनुपर्ने र पत्रकारका लागि स्वास्थ्यबिमाका साथै पत्रकारको उपचारमा ५० प्रतिशत छुटको व्यवस्था गर्न माग गरिएको छ ।

ज्येष्ठ पत्रकारलाई दिइने निवृत्तिभरण प्रक्रिया खुकुलो बनाउन, समाचार सङ्कलनको क्रममा पत्रकारको सुरक्षाको व्यवस्था मिलाइनुपर्ने, पत्रकारको सूचनामा पहुँच तथा डिजिटल दक्षतामा क्षमतावृत्तिको कार्यक्रमका साथै तालिमको व्यवस्था हुनुपर्ने, सञ्चारक्षेत्रको दीर्घकालीन सुारका लागि सहकार्य संरचना स्थापना गरिनुपर्ने र पत्रकार महासङ्घ काठमाडौँको कार्यालयका लागि जग्गा व्यवस्था गरिनुपर्ने माग गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार