काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा न्यूनतम भन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए दण्डनीय हुने बताउनुभएको छ। नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)द्वारा मंगलबार आयोजित नेपाली ट्रेड युनियन आन्दोलनको ७८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले श्रमिकको मन प्रशन्न नभइकन उद्योग–व्यवसायका काम सहज रूपमा अघि बढ्न नसक्ने उल्लेख गर्दै श्रमिक रोजगारदातामा रुपान्तरण हुनसक्ने भएकाले त्यस प्रकारको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले नर्सले पनि न्यूनतम पारिश्रमिक पाइरहेका छैनन् भन्ने सुनिएको उल्लेख गर्दै कुनै पनि बहानामा न्यूनतमभन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाउन नपाइने बताउनुभयो ।
'व्यवस्था परिवर्तनको आन्दोलनका क्रममा हाम्रा साथी मारिएका थिए, तर हाम्रा उद्देश्य मारिएका थिएनन् । हामीहरू जेल गएका थियौँ तर हाम्रा उद्देश्य जेल गएका थिएनन्', नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, 'अब हामी परिवर्तनको मर्मअनुसार अघि बढ्नुपर्छ । हामीले अन्तर्राष्ट्रिय मान्यताअनुसार संवादका माध्यमबाट सरकार, रोजगारदाता र श्रमिकलाई ‘विन विन’ अवस्थामा ल्याउन सक्नुपर्छ । सरकारले तटस्थ बसेर निष्पक्ष निष्कर्ष निकाल्नुपर्छ ।'
मिलेर बसेको नेपाली समाजलाई जात, धर्म र संस्कृतिका नाममा विभाजन गर्ने तथा काम गर्न खोज्नेविरुद्ध भ्रम र अवरोध सिर्जना गर्ने प्रवृत्तिलाई चिर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि विकासको क्रम बढेको बताउनुभयो ।