काठमाडौं। सरकारले लागुऔषध नियन्त्रणका लागि आगामी आर्थिक वर्षमा लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने भएको छ । बिहीबार काठमाडौंमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले यस्तो घोषणा गर्नुभएको हो।
उहाँले सरकारले लागुऔषधको नियन्त्रणलाई उच्च प्राथमिकता दिएको बताउनुभयो। लागुऔषधलाई नियन्त्रण गर्नका लागि सरकारले आगामी आर्थिक वर्षमा गृह मन्त्रालयअन्तर्गत छुट्टै विभागको स्थापना गर्ने जानकारी दिनुभयो।
गृह मन्त्रालयले लागुऔषध नियन्त्रणका लागि विभिन्न योजनाहरू बनाएर काम गरिरहेको पनि गृहमन्त्री लेखकको भनाइ छ । गृहमन्त्री लेखकले मन्त्रालयमा आफू आइसकेपछि लागुऔषध नियन्त्रणमा धेरै चासो दिएर काम गरिरहेको बताउनुभयो। लागुऔषध आफैँमा एउटा समस्या रहेको र यसले समाजमा अरू समस्या पनि सिर्जना गरिरहेको उहाँले बताउनुभयो।