रौतहट l रौतहटको गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालवा मोड नजिक सडक किनारमा सुटकेशभित्र महिलाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्कीका अनुसार शनिबार राति करिब १०:३० बजे सडकमा शंकास्पद सुटकेश देखिएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। आइतबार बिहान सुटकेश खोल्दा अन्दाजी ३० वर्षीया एक महिलाको शव फेला परेको उनले जानकारी दिए।
प्रहरीका अनुसार सुटकेश डोरीले मजबुत रूपमा बाँधिएको अवस्थामा भेटिएको थियो। शवमा साडी छिरिएको देखिएकाले हत्या गरी सुटकेशमा राखिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। मृतक महिलाको पहिचान भने अहिलेसम्म खुलेको छैन।
घटनाबारे थप अनुसन्धानका लागि प्रहरीले नजिकै रहेको विद्यालयको सीसीटीभी फुटेज समेत संकलन गरिरहेको जनाएको छ। शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ।
यसअघि पनि रौतहटको गौर–५ मा छुरा प्रहारबाट सहाबुदिन मियाको हत्या भएको थियो भने सप्तरीका उपेन्द्र भगतको शव एक होटलमा फेला परेको थियो। यो साता मात्रै रौतहटमा तीन वटा शव फेला परेका छन्।