काडमाडौं। ४ करोड २५ लाख रकम र ९ किलो सुनसहित पक्राउ परेका विनोदकुमार श्रेष्ठलाई राजश्व अनुसन्धान विभागमा पठाइने भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बरामद रकम र सुुनसहित श्रेष्ठलाई राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाउने लागेको बताए।
श्रेष्ठको कसुर प्रहरीले भन्दा पनि विभागले हेर्ने किसिमको रहेकाले त्यहाँ पठाउन लागिएको एसएसपी अधिकारीले बताए। मंगलबार प्रहरीले छापा हानेर ठूलो मात्रामा रकम बरामद गरेको थियो । त्यसैगरी सुनका विभिन्न गरगहनाहरू ९ किलो ८३७ ग्राम बरामद भएको छ । ३ किलो २१८ ग्राम चाँदीका गरगहना बरामद भएका छन् । उक्त रकम, सुनचाँदीसहित प्रहरीले गोरखाको गोरखा बजारका ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई पक्राउ गरेको थियो ।
उक्त रकम र सुनचाँदसहित पक्राउ परेका व्यक्ति मिटरब्याजी रहेको प्रहरीले दाबी गरेको छ । काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित आफ्नै घरबाट पक्राउ परेका श्रेष्ठले सुन धितो राखेर मिटरब्याजमा पैसा लगानी गर्ने गरेको दाबी प्रहरीले गरेको छ । ठूलो मात्रामा अवैध रकम लुकाएर राखेको भन्ने सूचना आएपछि प्रहरीले छापा मारेको थियो । सो क्रममा घरधनी श्रेष्ठ पक्राउ परेका हुन् ।