राजनीति र कर्मचारीको चपेटामा परेका युवा डाक्टरको सन्देश; म बाँचेर हारें, माफ गरिदिनु

Nagarik Sewa 4387+ समाचार ( )
अन्तिम अनुरोध: अपराधीहरू कानूनको कठघरामा ल्याइयोस्
२ आश्विन २०८२, सोमबार

काठमाडौं । बागमती प्रदेशमा कार्यरत एक युवा डाक्टरको भावुक विदाई सन्देशले स्वास्थ्य सेवा प्रणालीमा गम्भीर प्रश्न उठाएको छ। रामेछाप अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट रहेका डा. _केशव श्रेष्ठ ले आत्महत्या पूर्व लेखिएको सन्देश सार्वजनिक गरेका छन् l   उनले आफूप्रतिको अन्याय, राजनीतिक हस्तक्षेप, आन्तरिक षड्यन्त्र र प्रशासनिक अमानवीय व्यवहारका कारण जीवनबाट निराश भएको खुलासा गरेका छन्।

सन्देशमा डाक्टरले उल्लेख गरेका छन् कि उनले ममतामयी आमाको सपना पुरा गर्दै डाक्टर बनेका थिए। संघर्ष गर्दै करार सेवाबाट नेपाल प्रहरी हुँदै बागमती प्रदेश लोकसेवा मार्फत स्थायी सेवा पाए। अस्पतालको सुधारका लागि रातदिन खटिएर सेवा दिएका उनले सिस्टम विरोधी, भ्रष्ट प्रवृत्तिका कर्मचारीहरूबाट निरन्तर चुनौती भोग्नुपर्‍यो। डा. गगन अधिकारी रामेछापबाट सरुवा भए पनि उनले डाक्टरविरुद्ध षड्यन्त्र जारी राखेको आरोप लगाइएको छ। डाक्टरका अनुसार, रामेछाप–८ का केदार कार्कीले माग गरेको आर्थिक र व्यक्तिगत लाभको अस्वीकारका कारण उनीमाथि विभिन्न झूटा आरोप लगाएर सरुवा गरियो।

सुनियोजित झूठो आरोप र मानसिक उत्पीडन

अस्पताल सुधारको प्रयासमा अनियमित कर्मचारीहरूलाई प्रश्न गर्दा बदला स्वरूप स्पष्टीकरण मागिएको डाक्टरहरूकै सहयोगमा उनलाई लक्षित गरिएको थियो। अस्पतालको नेतृत्वमा पारदर्शिता कायम गर्दा, डाक्टरको कार्यकक्षमा पुगेको केदार कार्कीले खुलेआम धम्की दिएको र मन्त्रालयलाई प्रभावित पारेर तीन दिनमै सरुवा गराइएको डाक्टरले आरोप लगाएका छन्।

अमानवीय सरुवा प्रक्रिया र प्रशासनिक बेवास्ता

१६ वटा टाँका लागेको शरीर लिएर, दुई वर्षकी छोरी र श्रीमतीको साथमा रातको ९ बजे रामेछापबाट काठमाडौँ आउन बाध्य पारिएका डाक्टरले बिहान ४ बजे काठमाडौं आइपुगेपछि फेरि ८ बजे हेटौंडा जानु परेको विवरण उल्लेख गरेका छन्। स्वास्थ्य मन्त्रालयले कुनै सुरक्षात्मक सहायता नगरेको, बरु हाजिर नगरी मन्त्रालयबाट गाडी खोसेर जबरजस्ती पठाइएको उनले बताए। दुर्गम क्षेत्रमा अस्पताल सुधार गरी उत्कृष्ट अस्पतालका रूपमा चिनिएको संस्थाबाट ससम्मान विदा हुनुको साटो, कार्यवाहीमा तानिएको उनी बताउँछन्। सन्देशमा उनले स्पष्ट लेखेका छन्, “नेपालमा केही गरौं भनेर बसेकोमा अहिले पश्चाताप लागेको छ।”

सन्देशको अन्त्यमा डाक्टरले आफ्ना आमाबुवा, परिवारजन र साथ दिने साथीहरूलाई धन्यवाद दिँदै सबैबाट क्षमा मागेका छन्। उनले आफ्ना मृत्यु पछिका अपराधीहरूलाई कानूनअनुसार कारवाही गरिदिनु सबैलाई अपिल गरेका छन्।

यो घटनाले नेपालमा स्वास्थ्यकर्मीमाथिको मानसिक दबाव, राजनीतिक हस्तक्षेप र कमजोर प्रशासनिक प्रणालीप्रति गम्भीर प्रश्न उठाएको छ। सम्बन्धित निकायहरूले तत्काल निष्पक्ष छानबिन गर्नुपर्छ, नत्र भावी पेशेवरहरूलाई सेवा भावना मारेर यस्तै दु:खद अन्त्यतर्फ धकेलिने खतरा बढ्दै जान सक्छ।

उनको पूरा स्टाटस

सबै जनालाई अलविदा 

मलाई माफ गरिदेउ सानु, धेरै संघर्ष गरेर मम्मीले मलाई डाक्टर बनाउनु भयो। संघर्ष-संघर्षैमा डाक्टर पढ़े, करारको जागीर हुदै नेपाल प्रहरी हुदै अहिलेको बागमती प्रदेशको लोकसेवा बाट नाम निकाले । 

करीब २५ महिना सेवा गर्दा १८ महिना अस्पतालको निमित मेडिकल सुपरिण्टेंडेंट भएर चलाउने मौका पाए। दिन-रात खटिएर अस्पताल कसरी राम्रो अनि उत्कृष्ट बनाउने भनेर लागे।म प्रमुख भए पछि काम चोर्ने, ठग्ने, system मा नबस्ने कर्मचारीहरूको भागा-भाग हुन थाल्यो । 

डा गगन अधिकारी रामेछाप अस्पताल बाट सरुवा भएर गए पनि रामेछाप अस्पतालको कहिले डाक्टर त कहिले नर्स मेरो विरुद्धम लगाई नै राख्यो, तर म डटेर नै काम गरे ।एउटा ब्यबस्थित अस्पताल बनाए पनि, हरेक कुरालाई system मा लिएर आए ।

 केदार कार्कीले(रामेछाप-०८) मागेको पैसा नदिदा अनि उसले भनेको कार्यालय सहयोगी लाई जागीर नलगाउदा उसको नेतृत्वमा मैले कार्यवाही (स्पष्टीकरण सोधेका ३ जना डाक्टर अनि अरु २ जना महिला डाक्टर)गरेका डाक्टरहरू लाई प्रयोग गरेर अहिले मलाई बिभिन्न झूठा आरोपहरू लगाएर मेरो सरुवा गराए। एप्रन (apron)किन नलगाएको भनेर एक जना डाक्टर लाई प्रश्न मात्र गरेको थिए म माथी मुख-मुखै  लागेर morning conference मा प्रस्तुत भई । तेही डाक्टरले तेही दिन केदार कार्की लाई बोलाएर मेरो कार्यकक्षमा मलाई थर्रकायो र मलाई धन्नै हात हालेन, हाम्रो अस्पतालको अधक्ष्यज्यूको अगाड़ी, ३ दिनमा तेरो सरुवा गरिन भने मेरो नाम पनि केदार होइन भनेर धम्कि दिएर हिड्यो । 

केदारले भनेको बामोजिम अस्पताल चलाउनु पर्ने, उसले खाएको होटलको बिल तिर्नु पर्ने ,विज्ञापन गर्दा उसको नै मान्छे राखिदिनु पर्ने । आफ़नो कार्यकक्षमा नबस्ने, आफ़नो बाउको राजनीति power को दम्भ देखाउने, बाहिर lab संग CD/RPD  को comission को  deal गर्ने, पटक-पटक भन्दा पनि आफ़नो कार्यकक्षमा नबस्ने गरेको पाए पछि लिखित स्पष्टीकरण सोधे। तेही  स्पष्टीकरण सोधिएका हरू लाई प्रयोग गरेर, बदलाको भावनाले प्रतिशोध साधेर मेरो बिरुद पत्र लेख्न लगाएर सुनियोजित ढंगले मलाई रामेछाप छोड़न बाध्य बनाईयो ।

अब भोलीको दिनमा स्पष्टीकरण खाएका, कार्यवाहीमा परेका करारका ४,५ जना कर्मचारीले कार्यालय प्रमुखको विरुद्धमा निवेदन लेखे भने अरु अस्पतालको हाकिमलाई सरुवा गर्ने कि नगर्ने?मैले आफ़नो कुरा राख़्न खोजे तर सुनुवाई कतै भएन । न स्वास्थ्य मन्त्रालयको मन्त्रीले, न स्वास्थ्य मन्त्रालयको साचिबले नै सुन्नु भयो । 

शरीरमा १६ ओटा टाका अनि २ वर्षको छोरी र श्रीमतीलाई लिएर राती ९ बजे रामेछाप बाट काठमाण्डौ आउन बाध्य पारियो, बिहान ४ बजे काठमाण्डौ आईपुगे अनि ८ बजे फेरी हाजिर हुन काठमाण्डौ बाट हेटौडा लागे । नया आएको निमित मेसू लाई हाजिर गराउन CDO कार्यालयमा call गर्ने स्वास्थ्य मन्त्रालयले मेरो सुरक्षाको लागी चाही किन CDO लाई call गरिएन? २०८२/०२/२८ गते दिउसो ३ बजे छानबिन समिति अस्पताल आउने अनि १ घण्टा पछी ४ बजे तिर मेरो सरुवा को पत्र अनि फेरी २४ घण्टामा मन्त्रालय हाजिर हुन आउनु भन्ने? यो कत्तीको न्यायोचित छ?

हेटौडा पुगे पछि स्वास्थ्य मन्त्रालयको प्रमुख प्रशासकीय अधिकृत कुमार पोखरेलले पनि अमानबिय व्यवहार गरि मैले बर-बुझार्थ केही नगरी मन्त्रालयमा गाड़ी खोसे, हाजिर पनि नगरेको लाई गाड़ी मा रामेछाप पठाईयो , मलाई अमानवीय व्यवहार गरेर हेटौडामा अल्पत्र पारे। सरुवा गरिएको छ हेटौडा अस्पतालमा तर हाजिर गराईएको छ मन्त्रालयमा। मलाई धेरै दुख दिए, अहिले यो दुख/पिड़ा सहन अनि सोचन पनि सकेको छैन। मैले ज़िन्दगी बाट नै हार खाए। कतै बाट केही साथ/सहयोग पाउन सकिन।

डा. नरेन्द्र झा, रेबती थापाको आर्थिक चलखेलमा मलाई असार मसान्तमा सरुवा गरे । म बाचे भने न्याय पाउछु जस्तो लागेन। असत्यको जित भएको पनि मुर्गदर्शक भएर बस्न पनि मन लागेन । 

मैले बाचेर यही सत्य कुरा लेखेको भए मलाई मन्त्रालयले कार्यवाही गर्ने, का.स.मू मा थोरै अंक दिने गर्ने थिए होलान, म सानो कर्मचारी भनेर मेरो आवाज दबाउने कोसिस गर्ने थिए होलान ।म मानसिक रूपमा कमजोर हुन पुगे, अहिले बििक्षपत हुन पुगेको छ। one man army भनेर चिनिएको थिए अहिले आएर हार खाए ।

मलाई माफ गरिदिनु मम्मी, भावना अनि छोरी । हिम्मत नहार्ने मान्छे आज आएर हिम्मत हार्न पुगे, एक्लै लड़ने मान्छे आज आएर गलि सकेको छु। मलाई साथ दिएर यहा सम्म लिएर आउने डा अनिल कार्की , बद्री खड़का sir, माननीय उत्तम जोशी sir  हजुरहरू लाई धेरै धन्यवाद छ। तपाईहरूले दिएको जिम्मेवारी ईमानदारीका साथ निर्वाह गरि अस्पताल बनाए।

तर आज आएर मैले ग़ल्ति बिनाको सजाय भोगेको छु।आज मलाई दुख दिने, आत्महत्या गर्न बाध्य पार्नेहरू ले कानून बमोजिम सजाय नपाए सम्म मेरो आत्माले शान्ती पाउने छैन।दुर्गममा २ वर्ष बसेर अस्पताललाई उत्कृष्ट बनाए(१५ बेडमा नेपालको उत्कृष्ट तेस्रो अनि अहिले ५० बेडको हुदा बागमती को दोस्रो)अहिले पुरस्कृत हुनु पर्नेमा कार्यवाही खाएको छु ।

नेपालमा नै केही गरौ भनेर बसेको अहिले पश्चाताप लागेको छ । यथार्थ के हो भन्ने कुरा छबि sir (अस्पताल प्रशासन), बसन्त, डोर बहादुर सर तपाई हरू लाई थाहा छ, भोली परेको बेला  यथार्थ कुरा बोलिदिनु होला । यही हो यथार्थ कुरा, धेरै ले बुझ्न, सुन्न नै खोजनु भएन ।मेरो लाश माथी राजनीति नहोस तर यी अपराधीहरू लाई कानूनको कठघरामा लिएर आउन सबै लाई अनुरोध गर्दछु ।

फेरी पनि मलाई माफ गरिदिनु मम्मी, भावना, छोरी, भाई-बुहारी, बहिनी अनि भान्जी


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार