राष्ट्रपति पौडेल दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी हुन कतार प्रस्थान

Nagarik Sewa 4387+ समाचार ( )
१८ कार्तिक २०८२, सोमबार

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही १८ देखि २० गतेसम्म आयोजना हुने सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ। राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले बिदाई गर्नुभएको थियो । 

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । सो अवसरमा सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक निकायका प्रतिनिधिलगायत उपस्थित हुनुहुन्थ्यो । राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्नुहुने कार्यसुची रहेको छ । सम्मेलनका क्रममा राष्ट्रपति पौडेलसँग कतारका अमिर र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायत विभिन्न विशिष्ट व्यक्तिहरूको भेटवार्ता हुनेछ ।

संयुक्त राष्ट्रसङ्घको निर्णयअनुसार यो दोस्रो सम्मेलन ३० वर्षपछि हुन लागेको हो । यसअघि पहिलो सम्मेलन सन् १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । यसपटक कतारले सम्मेलन आयोजना गरेको हो । सम्मेलनले सामाजिक विकासका लागि सहकार्य र सहयोगका विषयमा साझा प्रतिबद्धतासमेत जाहेर गर्नेछ। राष्ट्रपति पौडेलसँग उहाँका धर्मपत्नी सविता पौडेल, सञ्चारविज्ञ किरणकुमार पोखरेल, राष्ट्रपति कार्यालयका सचिव तथा नेपाल सरकारका अन्य विशिष्ठ अधिकारी सहभागी हुनुहुन्छ ।

राष्ट्रपति पौडेल भ्रमण पूरा गरी यही कात्तिक २० गते स्वदेश फर्कनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार