काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै राजनितिक दलहरू निर्वाचनको तयारीमा जुटिसकेको बताउनुभएको छ। बिहीवार काठमाडौंमा गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपालको ६१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजनीतिक दलहरू निर्वाचनमा होमिएको बताउनुभएको हो।
राजनीतिक दलहरूले निर्वाचनको लागि उम्मेद्वार सिफारिस समेत गर्न थालिसकेको बताउँदै उहाँले निर्वाचनको तयारी स्वरुप कतिपय राजनीतिक दलहरूले गाउँदेखि शहरसम्म अभियान चलाएको उल्लेख गर्नुभयो।
‘कतिपय राजनितिक दल महाधिवेशन गर्दै हुनुहुन्छ, गर्नेवाला हुुनुहुन्छ, गाउँदेखी शहरसम्म अभियान चलाउनुभएको छ । यहाँहरूलाई जानकारी गराउँ, उम्मेद्वारको नाम सिफारिस भइरहेको छ । समानुपातिकमा नाम सिफारिस भइरहेको छ,’ मन्त्री खरेलले भने, ‘भनेपछि राजनितिक दलहरू चुनावमा होमिनु भइसकेको छ । सरकार सबैखालका स्रोत, साधान, जनशक्ति तयार गरेर चुनावलाई सफल बनाउने वातावरणमा सरकारले त्यो काम गरिरहेको छ । जनता भोट हाल्न आतुर छन् । निर्वाचन अव उत्सव होइन, महोत्सव बन्दैछ । मुलुक निर्वाचनमा अगाडी बढिसक्यो ।’
फागुन २१ गते हुने निर्वाचनको लागि ८ लाख भन्दा बढी नयाँ मतदाताहरू थपिएकोले देशमा निर्वाचन महोत्सव बन्न लागेको दाबी पनि गर्नुभयो। निर्वाचनमा भोट हाल्न जनता पनि आतुर रहेको उहाँको भनाइ छ । सरकारले सबैखालका स्रोत, साधान, जनशक्ति तयार गरेर निर्वाचनलाई सफल बनाउने वातावरणमा लागेको पनि उहाँले जानकारी दिएनुभयो। वर्तमान सरकार जेनजी आन्दोलनको म्याण्डेटअनुसार नै चलेको बताउँदै उहाँले निर्वाचनको तयारी तिब्र गतिमा बढेको उल्लेख गर्नुभयो ।