कांग्रेसका हस्ताक्षर बुझाएका महाधिवेशन प्रतिनिधिहरूले बोलाए भेला

Nagarik Sewa 4387+ समाचार ( )
१५ कार्तिक २०८२, शुक्रबार

काठमाडौं। नेपाली कांग्रेसका विशेष महाधिवेशन माग गर्दै असोज २९ गते हस्ताक्षर बुझाएका महाधिवेशन प्रतिनिधिहरूले भेला बोलाएका छन्। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरे पनि त्यसअनुसार कांग्रेसले प्रक्रिया सुरू गरेको छैन भने नियमित महाधिवेशनमा नेताहरूले जोड दिइरहेका छन् तर कार्यतालिका ल्याउन ढिलाइ भइरहेको छ।

जारी केन्द्रीय समिति बैठकले नियमित महाधिवेशन कार्यतालिका ल्याउने सम्भावना नदेखिएको भन्दै विशेष महाधिवेशन माग सान्दर्भिक भएकोले नेतृत्वमाथि दबाब दिन महाधिवेशन प्रतिनिधिहरूले काठमाडौंमा भेला गर्न लागेका हुन्। नेता गुरूराज घिमिरेले आइतबार काठमाडौंमा महाधिवेशन प्रतिनिधिहरूको भेला हुने जानकारी दिए।

‘आज र भोलि केन्द्रीय समिति बैठक हेर्छौं, नियमित महाधिवेशन कार्यतालिकासहित महाधिवेशन सम्पन्न गर्ने सुनिश्चितता आएन भने पर्सी महाधिवेशन प्रतिनिधिहरूको भेला हुन्छ,’ घिमिरेले भने, ‘त्यसपछि विशेष महाधिवेशनको प्रक्रिया सुरू गर्न भन्छौं।’

भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनपछि कांग्रेसमा पनि नीति र नेतृत्व परिवर्तन गर्दै पार्टीलाई रूपान्तरण गरेर जानुपर्ने माग छ। महामन्त्री थापाले केन्द्रीय कार्यसम्पादन समितिमा महाधिवेशन कार्यतालिका प्रस्ताव पेस गरे पनि केन्द्रीय समितिमा पेस गर्न पाएका छैनन्। सभापति देउवा पक्षका नेताहरू महाधिवेशन कार्यतालिका ल्याउन तयार नदेखिँदा बिहीबारको केन्द्रीय समिति बैठक महामन्त्री थापा अनुपस्थित रहेका थिए। महामन्त्री थापाले सभापति देउवा पक्ष तयार नभए पनि अबका केन्द्रीय समितिमा महाधिवेशन कार्यतालिका पेस गर्ने तयारी गरेका छन्।

आज दिउँसो १ बजे सोनपामा केन्द्रीय समिति बैठक बस्दैछ। यो बैठक असोज २८ कै केन्द्रीय समिति बैठकको निरन्तरता हो। उक्त बैठकमा सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। सभापति देउवा हाल थप उपचारका लागि सिंगापुरमा छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार