पोखरा। मुस्ताङको मुक्तिनाथ मन्दिर क्षेत्रमा वर्षा र हिमपात भएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङले रातको समयबाट बर्षातसगै मुक्तिनाथ लगायत उपल्लो मुस्ताङ घमीबाट माथिका क्षेत्रहरुमा हिमपात परेको जानकारी दिदै उक्त क्षेत्रमा यात्रा गर्ने यात्रुहरुले सतर्कता अपनाई यात्रा गर्न आग्रह गरेको छ।
हिमपातले मुस्ताङका डाँडाकाँडा सेताम्मे देखिएका छन् भने हिमपातका कारण मुक्तिनाथ दर्शनका लागि गएकाहरू प्रभावित भएका छन्। यसैबीच, जिल्ला प्रशासन कार्यालय मुस्ताङले हिमपात भइरहेकाले पर्यटकहरूलाई सुरक्षित बस्न अनुरोध गरेको छ । यसअघि पनि मुस्ताङ प्रशासनले पर्यटकीय पदमार्गमा यात्रा नगर्न पदयात्रीलाई आग्रह गर्दै बुधबारसम्म मौसम प्रतिकूल रहने बताएपछि मुस्ताङका उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न अनुरोध गरेको हो ।
मुस्ताङका उच्च हिमाली क्षेत्रको मुस्ताङ–डोल्पा, पाँच हजार ८०० मिटर उचाइको याकखर्क क्षेत्र, पाँच हजार ४०० मिटर उचाइको मनाङ–मुस्ताङ थोरङ्लापास, छ हजार मिटर उचाइको मुस्ताङ–मनाङ सरिबुङ पास र मुस्ताङ–म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिकलगायतका क्षेत्रहरुमा भारीदेखि हल्का हिमपात हुने विभागको प्रक्षेपण छ। त्यसैले उक्त क्षेत्र भएर पदयात्रा नगर्नुरनगराउन अनुरोध गरिएको छ ।
सूचना अनुसार जिल्लाको अन्य भागमा समेत बुधबारसम्म हिमपात र वर्षाको सम्भावना रहेकाले पर्यटक तथा तीर्थयात्रीहरूले मौसम पूर्वानुमानसम्बन्धी जानकारी लिएर उच्च सतर्कताका साथ यात्रा गर्न समेत अनुरोध गरेको छ ।