काठमाडौं। सडक डिभिजन भरतपुरले दिएको जानकारी अनुसार मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोलामा खसेको विशाल पहिरो पन्छाउने कार्य जारी रहे पनि सडक भोलि (असोज ९ गते) दिउँसोसम्म मात्रै सञ्चालनमा आउने अनुमान गरिएको छ। पहिरो १२ सय देखि १४ सय घनमिटर भएको अनुमान गरिएको छ।
सडक डिभिजनका अनुसार, आज बिहान ६ बजेदेखि दुवैतर्फबाट पहिरो पन्छाउने काम सुरु भएको छ । पहिरोको परिमाण निकै ठुलो (१२ सय देखि १४ सय घनमिटर) रहेको हुँदा सडक खुलाउन समय लाग्ने जनाएको छ। माथिबाट थप ठुलो पहिरोको सम्भावना कम रहेको भएतापनि, झर्न बाँकी रहेका साना तथा मझौला स्तरका ढुंगाहरू खस्न सक्ने सम्भावना कायमै रहेको सडक डिभिजनले जनाएको छ ।
पहिरो पन्छाउनका लागि सडक विभागका उपकरणहरू सुरक्षित रूपमा निरन्तर काम गरिरहेका छन् । यस कार्यलाई थप प्रभावकारी बनाउन कुरिनटार र भरतपुरबाट इन्धनसहितका अन्य आवश्यक उपकरण बोकेका गाडीहरू घटनास्थलमा आवतजावत गरिरहेका छन् ।
प्राकृतिक विपदको यस परिस्थितिमा सम्पूर्ण यात्रुहरूलाई धैर्य धारण गर्न सडक डिभिजन भरतपुरले विशेष अनुरोध गरेको छ । साथै, विभागका गाडीहरूलाई सहजीकरण गर्न र पहिरो सफा गर्ने कार्यमा बाधा नपुगोस् भन्नका लागि लेन अनुशासन अनिवार्य रूपमा कायम गरिदिन समेत आग्रह गरिएको छ । सडक डिभिजनले यात्रुहरूले प्रयोग गर्न सक्ने वैकल्पिक सडक मार्गहरूको लागि रुट नेभिगेसन लिंक उपलब्ध गराएको छ ।