झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचन बीचमै स्थगित हुन सक्ने संकेत गरेका छन् । झापाको भद्रपुरमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले भने, “यो चुनाव स्थगित हुन पनि सक्छ । तर, हामी चुनावको तयारीमै छौँ ।”
चुनावी प्रचारका लागि आफ्नो निर्वाचन क्षेत्रमा पुग्ने हतारोका बीच क्षेत्र नम्बर ३ को प्रचार समितिले आयोजना गरेको कार्यक्रममा ओलीले भने, “चुनावका लागि देशको खर्च नहुनुपथ्र्यो, भइसक्यो । निर्वाचन प्रहरी खटाइसक्यो । त्यसैले निर्वाचन हुनुपर्छ ।”
दाङसहित देशका विभिन्न स्थानमा पार्टीका झन्डा जलाएको घटनाप्रति टिप्पणी गर्दै ओलीले भने, “आस्थाको प्रतीक मानिने झन्डाको अपमान गर्नु अपराध हो । त्यस्ता क्रियाकलाप रोक्न हामी सचेत गराउँछौँ ।” हार्ने भएपछि रास्वपाले झन्डामा आगो झोसेर चुनाव भाँड्ने षड्यन्त्र गरेको ओलीको टिप्पणी छ ।
झापा–५ का आफ्ना प्रतिस्पर्धी बालेन्द्र शाहप्रति लक्षित गर्दै ओलीको कटाक्ष गरे, “एउटा पालिका चलाउन नसक्नेलाई प्रधानमन्त्री बनाउने रे ! के यो देश प्रयोगशाला हो ?” उनले यो चुनाव देश बनाउने र जलाउनेबीचको लडाईं भएको दोहोर्याए । देशको सार्वभौमिकता र स्वाधीनता संकटमा पर्दै गएको भन्दै ओलीले यो राष्ट्रिय स्वाधीनताको रक्षाका लागि एमाले कसैको कठपुतली नबन्ने बताए ।
ओलीले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरे । उनले आफू सरकारमा रहँदा भएका स्वास्थ्य, शिक्षा, रोजगारीदेखि विकास निर्माणका कामको फेहरिस्त प्रस्तुत गरे । काठमाडौंबाट शनिबार झापा फर्किएका ओली दमकमा आयोजित शिक्षकहरूको भेलामा पनि सहभागी भए । सो क्रममा उनले सार्वभौमिकताको रक्षक बनेकैले आफूमाथि चौतर्फी घेराबन्दी गरिएको गुनासो गरे ।