काठमाडौं । चुनाव सफल पार्दै ‘जेनजी’ आन्दोलनपछिको संक्रमणकाल टुंग्याएर ‘वाहवाही’ पाइरहेको नागरिक सरकारले कामचलाउ अवस्थामा गलत प्रक्रियाबाट पद बाँडफाँट गरेको भन्दै ‘जेनजी’ अभियन्ताहरूले असन्तुष्टि व्यक्त गरेका छन् । चुनाव सम्पन्न भएर नयाँ सरकार बन्ने चरणमा रहँदा अन्तरिम नागरिक सरकारले राष्ट्रियसभामा गरेको सिफारिस र प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो प्रमुख स्वकीय सचिवलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष बनाएको विषयमा जेनजी अभियन्ताहरूले विरोध जनाएका हुन् ।
आइतबार (चैत १) बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभामा रिक्त विज्ञको कोटामा अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्त गर्ने निर्णय गरेको थियो । यस्तै, राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई नियुक्त गरेको थियो ।
राष्ट्रियसभामा नियुक्तिको प्रक्रिया नमिलेको जेनजी अभियन्ताहरूको भनाइ छ । यस्तै, नियुक्तिहरू नातावाद कृपावादका आधारमा नभएर योग्यताका आधारमा हुनुपर्ने मागलाई जेनजी आन्दोलनको बलमा बनेको नागरिक सरकारले समेत कुल्चिएको भन्दै जेनजी अभियन्ताहरूले असन्तुष्टि व्यक्त गरेका हुन् ।
जेनजी अभियन्ता माजिद अन्सारीले बिदा हुने सम्मुखमा रहेको अन्तरिम नागरिक सरकारले कार्यकालको अन्त्यमा सुशासनको धज्जी उडाएको बताए । “हिजो हामीले पुराना राजनीतिक दलले आफ्ना आसेपासेलाई पद बाँडे । राज्यका निकायमा योग्यताका आधारमा नियुक्ति हुनुपर्छ भनेर आन्दोलन गर्यौं । नातावाद र कृपावादविरूद्ध पनि हामीले आन्दोलन गरेका थियौँ । सही मान्छेले गलत प्रक्रियाबाट लिएको निर्णय पनि गलत नै हुन्छ । मन्त्रिपरिषद्का दुवै निर्णय गलत प्रक्रियाबाट भएको छ यसले सुशासनको धज्जी उडाएको छ,” उनले बाह्रखरीसँग भने ।
राष्ट्रियसभामा विज्ञको कोटामा अर्यालको छनोट गलत नभए पनि प्रक्रिया गलत भएको जेनजी अभियन्ताहरूको भनाइ छ । ताजा जनादेशबाट दुईतिहाइनजिकको सरकार बन्ने क्रममा रहँदा कामचलाउ हैसियतमा परिणत भएको सरकारले राष्ट्रियसभामा नियुक्ति सिफारिस गर्नु प्रक्रियासम्वद्ध ढंगले गलत भएको अन्सारी बताउँछन् । “अर्यालको योग्यतामा कुनै शंका छैन । तर, उहाँको नियुक्तिको प्रक्रिया गलत भयो । प्रक्रिया र प्रणाली बलियो बनायौँ भने कसैले पनि बदमासी गर्नसक्दैन । हामीले बलियो प्रक्रिया र प्रणाली खोजेका थियौँ । प्रणाली र प्रक्रिया कमजोर बनाउन अन्तरिम नागरिक सरकार अग्रसर हुनु गलत भयो,” उनले भने ।
नागरिक सरकार प्रमुख कार्की पनि आसेपासेवाद र कृपावादबाट माथि उठ्न नसकेको जेनजी अभियन्ता तनुजा पाण्डेको टिप्पणी छ । “आसेपासेवादबाट माथि उठ्ने कुरा गर्नेहरूकै वरिपरि यस्तो घटना दोहोरिनु आफैँ व्यंग्य जस्तै लाग्छ । आदर्श प्रकरणले फेरि एकपटक देखायो, यहाँ समस्या पात्रहरूको होइन, संस्कृतिको हो,” उनको टिप्पणी छ ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठ यसअघि पनि आफ्नै श्रीमतीलाई नियुक्ति दिँदै विवादमा तानिएका थिए । जेनजी अभियन्ताहरूले उनलाई प्रमुख स्वकीय सचिवबाट बर्खास्त गर्न प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण गराएका थिए । जेनजी अभियन्ताको दबाबमा श्रेष्ठको श्रीमतीले पाएको नियुक्ति खारेज भएको थियो । यद्यपि, उनको बर्खास्तीको माग भने सम्बोधन भएको थिएन ।
प्रधानमन्त्री कार्कीले सचिवालयमार्फत विज्ञप्ति जारी गर्दै आफ्नो हेरचाह गर्ने व्यक्तिलाई लाञ्छना नलगाउन अनुरोध गरेकी थिइन् । आफ्नो परिवारमा श्रीमान् मात्र रहेको र वृद्ध उमेरको कारण पारिवारिक सहयोग गर्न सक्ने विश्वासिलो व्यक्तिलाई प्रमुख स्वकीय सचिव बनाइएको व्यहोरा विज्ञप्तिमा आएको थियो । “प्रधानमन्त्रीको निवासमा रही नजिकबाट सहयोग गर्नुपर्ने र चौबीसै घण्टा पनि सँगै रहेर खट्नुपर्ने भएकाले सुरक्षाका कारणबाट समेत विश्वासिलो, भरपर्दो र रातदिन खटिएर काम गर्न सक्ने व्यक्तिको कानुनसम्मत नियुक्तिलाई लिएर प्रश्न उठाई अन्यथा व्याख्या नगर्न अनुरोध छ,” विज्ञप्तिमा अगाडि भनिएको थियो, “यसबाहेक अन्य नियुक्तिहरूमा प्रमुख स्वकीय सचिवलाई लाञ्छना लगाई अनावश्यक रूपमा जोडिएको तथा कतै थर र कतै जातीय पृष्ठभूमि मिलेकै आधारमा जबरजस्ती नातेदार भनी प्रचार गरिएको देखिएकोले त्यसो नगरिदिन हुन पनि अनुरोध छ ।”
प्रधानमन्त्री कार्कीको निर्णयले जेनजी आन्दोलन र सहिदको बलिदानीको मजाक उडाएको उनले उल्लेख गरेकी छिन् । “सहिदको रगतको मजाक नगर्नुस् । घिन लाग्दो राजनीतिक नगर्नुस् । सत्ताको स्वाद र पुहँचको खेलले यहाँ सबैलाई सडकमा झारेको छ । तपाईं अर्को पात्र नबन्नुस्,” प्रधानमन्त्री कार्कीलाई इंगित गर्दै उनले भनेकी छन् ।
जेनजी अभियन्ता रक्षा बमले पनि प्रधानमन्त्रीको निर्णयले जेनजी आन्दोलनको मर्म र सहिदको बलिदानीको अपमान गरेको टिप्पणी गरिन् । सहिदहरूको बलिदानी प्रधानमन्त्री र मन्त्रीका आफ्ना मान्छेलाई बिदाइ उपहारका निम्ति नरहेको स्मरण उनले गराएकी छन् । “सडकमा सुशासनक लागि नातावाद र कृपावादविरूद्ध नारा लगाउँदै मेरा जेनजी साथीहरूले छाती र टाउकामा गोली खाए । यो देशले विस्तारै भए पनि सुशासनको सास फेर्न पाओस् भन्ने सपनाका लागि थियो । प्रधानमन्त्री र मन्त्रीहरूले बिदाइमा आफ्ना मान्छेलाई कुर्सी बाँडफाँटमा लागि होइन,” उनले लेखेकी छन् ।