भारतका ऊर्जामन्त्री खट्टर नेपालमा

Nagarik Sewa 4387+ समाचार ( )
९ वैशाख २०८२, मङ्गलबार

काठमाडौं। भारतका ऊर्जा, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर आज नेपाल आइपुग्नु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उहाँ आज बिहान दुई दिने भ्रमणका लागि नेपाल आइपुग्नु भएको हो । 

ऊर्जामन्त्री खट्टरले आज दिउँसो भारत सरकारको सहयोगमा निर्माण सम्पन्न कोशी कोरिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा–वसन्तपुर–बानेश्वर–तुम्लिङटार प्रसारण लाइन तथा २२०र१३३र३३ केभी तुम्लिङटार सबस्टेसन, २२०र३३ केभी बानेश्वर सबस्टेसन र २२०र१३३र३३ केभी वसन्तपुर सबस्टेसनको संयुक्त रूपमा सङ्खुवासभाको तुम्लिङटार सबस्टेसनमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

उहाँले आजै भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ। सोही दिन दुई देशले संयुक्त रूपमा निर्माण गर्न लागेको प्रसारण लाइन निर्माणका लागि स्थापना गरिएको कम्पनीको सम्झौतापत्रमा हस्ताक्षर हुने मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ।

आज नै मन्त्रीद्वयको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेसन इन्डियाबिच दुई अन्तर्देशीय प्रशारणलाइन निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार ४०० केभी क्षमताका दोधारा (लुम्की) बरेली र इनरुवा–पूर्णिया अन्तर्देशीय प्रसारणलाइन निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर हुनेछ।

भोलि खट्टर मुस्ताङको मुक्तिनाथ क्षेत्रको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ। भोलि नै उहाँले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ।  विद्युत्मन्त्री खट्टरले सोही दिन साँझ पशुपतिनाथको दर्शन गर्नुहुनेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार