एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की दुइटा काम गरे साढे तीन वर्षदेखि जारी युद्ध तत्काल अन्त्य हुने बताएका छन्। जेलेन्स्की र युरोपेली नेताहरू सोमबार ह्वाइट हाउस पुगेर ट्रम्पसँग वार्ता गर्दैछन्। वार्ता अघि नै ट्रम्पले जेलेन्स्कीले दुइटा काम गरे युद्ध तत्काल अन्त्य हुने बताएका हुन्।
पहिलो, युक्रेनले सन् २०१४ मा रुसले अवैध रूपमा कब्जा गरेको क्राइमियामाथिको दाबी छाड्ने र दोस्रो, युक्रेन कहिल्यै नेटो सैन्य गठबन्धनमा सामेल नहुने 'युक्रेनका राष्ट्रपति जेलेन्स्कीले चाहेमा रुससँगको युद्ध लगभग तुरुन्तै अन्त्य गर्न सक्छन्। वा लडाइँ जारी राख्न सक्छन्। याद गर्नुहोस् यो कसरी सुरु भयो। ओबामाले १२ वर्षअघि एउटा गोली पनि नचलाई क्राइमिया दिए। र युक्रेन नेटोमा नजाने कुरा,' ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमा लेखेका छन्।
उनले युद्ध अन्त्यका लागि युद्ध सुरू कहाँबाट भयो भन्नेमा जानुपर्ने र त्यहीँबाट समस्या समाधान गर्नुपर्ने बताए। ट्रम्पले भनेका ती विषय रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध अन्त्यका लागि राख्दै आएका प्रमुख शर्तहरू हुन्। युरोपेली नेताहरू ह्वाइट हाउस पुग्नुअघि ट्रम्पले यस्तो स्टाटस लेख्नुलाई उनले युक्रेनमाथि कति दबाब हाल्न सक्छन् भन्ने आकलन गर्न सकिने अमेरिकी मिडिया सिएनएनले उल्लेख गरेको छ।
ट्रम्पले जेलेन्स्कीलाई पुटिनले अघि सारेका शर्तहरू स्वीकार गर्न दबाब दिन सक्छन् भन्ने उनीहरूलाई डर छ। यद्यपि ट्रम्पले ह्वाइट हाउसमा त्यति धेरै युरोपेली नेताहरूलाई एकसाथ स्वागत गर्नका लागि आफू आतुर रहेको बताएका छन्। युरोपेली नेताहरूले युक्रेन र युरोपलाई बेफाइदा हुनेगरी सम्झौता हुन नसक्ने बताउँदै आएका छन्। विशेषगरी जमिनबारे उनीहरूले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको विरूद्धमा हुने कुनै सम्झौता मान्य नहुने भनेका छन्।
साथै युक्रेन नेटोमा सहभागी हुने नहुने तय रूसले गर्न नसक्ने पनि उनीहरूको भनाइ छ। युरोपेली नेताहरू शान्ति सम्झौताको बदलामा रुसले के-के कुरामा छुट दिन सक्छ भन्नेबारे ट्रम्पबाट थप जानकारी लिन चाहन्छन्। साथै, भविष्यमा युक्रेनलाई दिइने सुरक्षा ग्यारेन्टीमा अमेरिकाको भूमिका कस्तो हुनेछ भन्नेमा पनि उनीहरू स्पष्ट हुन खोजिरहेका छन्।
सोमबारको भेटवार्ता सकारात्मक भए ट्रम्प, पुटिन र जेलेन्स्कीबीचको त्रिपक्षीय वार्ता तय हुनेछ। आजको वार्ता सफल भए अर्को साताभित्रै त्रिपक्षीय भेटवार्ताको चाँजोपाँजो मिलाउने तयारी रहेको अमेरिकी अधिकारीहरूले बताएका छन्।
ह्वाइट हाउसमा ट्रम्पसँगको भेटमा जेलेन्स्कीले तितो अनुभव लिइसकेका छन्। गत फेब्रुअरीमा खनिज सम्झौताका लागि ह्वाइट हाउस पुगेका जेलेन्स्की राष्ट्रपति ट्रम्प र उनका उपराष्ट्रपति जेडी भान्सबीच भनाभन भएको थियो। यसपालि फेब्रुअरीको भेटवार्ताजस्तो नहोस् भन्नका लागि जेलेन्स्कीसँगै युरोपेली नेताहरू पनि ह्वाइट हाउसको भेटवार्तामा सहभागी हुने बताइएको छ।
बेलायती प्रधानमन्त्री केअर स्टार्मर, जर्मनीका चान्स्लर फ्रेडरिक मर्ज, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, युरोपेली संघका प्रमुख उर्सुला भोन देर लेयन, फिनल्याण्डका राष्ट्रपति अलेक्जेन्डर स्टब र नेटोका महासचिव मार्क रुट्टे पनि ह्वाइट हाउस जाने अमेरिकी मिडिया सिएनएनले लेखेको छ।