भारतको तमिलनाडुमा थलापति विजयको चुनावी र्‍यालीमा भागदौड हुँदा ३६ जनाको मृत्यु

Nagarik Sewa 4387+ समाचार ( )
१२ अशोज २०८२, आइतबार

दिल्ली। भारतको तमिलनाडु राज्यमा लोकप्रिय अभिनेता तथा राजनीतिज्ञ विजयको राजनीतिक र्‍यालीमा भएको भागदौडमा कम्तीमा ३६ जनाको ज्यान गएको छ भने ४० जना घाइते भएका छन्। मृतकमध्ये आठ जना बालबालिका रहेका छन्। राज्यका स्वास्थ्यमन्त्री एम. सुब्रमण्यमले शनिबार राति यो जानकारी दिएको हो।

करुर जिल्लामा आयोजित विजयको र्‍यालीमा हजारौँ समर्थक सहभागी भएका थिए। भीड निकै बाक्लो हुँदा विजयको बस नजिक पुग्न खोज्ने क्रममा केही समर्थक लड्दा भागदौड सुरु भएको अधिकारीहरूले बताएका छन्। अत्यधिक गर्मीका बीच घण्टौँ ढिलो विजय आइपुगेपछि स्थिति झन् तनावग्रस्त बनेको थियो। स्वास्थ्यमन्त्री सुब्रमण्यमले ‘र्‍यालीमा अनुशासनको कमी थियो’ भन्दै घटनाको अनुसन्धानको आदेश दिइएको जानकारी दिए।

प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार विजयले आफ्नो अभियान गाडीबाट र्‍यालीलाई सम्बोधन गर्दा कम्तीमा ३० जना बेहोस भएका थिए।उनीहरूलाई तत्काल एम्बुलेन्समार्फत अस्पताल लगिएको थियो। अवस्था गम्भीर हुँदै गएपछि विजयले भाषण बीचमै रोक्नुभएको थियो तर केही समयपछि फेरि निरन्तरता दिएका थिए। अन्ततः विशाल भीडमा असामान्यता देखिएपछि भाषण पूर्ण रूपमा रोकिएको थियो।

दुर्घटनाको केही घण्टापछि विजयले सामाजिक सञ्जाल ‘एक्स’ मा दुःख व्यक्त गर्दै लेख्नुभयो, “मेरो हृदय टुक्रिएको छ। म अवर्णनीय पीडा र दुःखमा छु जुन शब्दले व्यक्त गर्न सकिँदैन।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनालाई ‘गहिरो दुःखदायी’ भन्दै शोक प्रकट गरेका छन् । “मेरा विचारहरू ती परिवारहरूसँग छन् जसले आफ्ना प्रिय गुमाएका छन्। म सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,“ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

तमिलनाडुमा फिल्म स्टारहरूलाई विशेष सम्मान दिइन्छ र उनीहरूको लोकप्रियता राजनीतिमा समेत प्रभावशाली देखिन्छ। विजयले सन् २०२४ मा अभिनयबाट अवकाश लिएर आफ्नै राजनीतिक पार्टी गठन गर्नुभएको थियो। उनले आगामी चुनावमा उम्मेदवारी दिने योजना स्पष्ट नगरे पनि उनको राजनीतिक यात्रा सुरु भइसकेको छ।

भारतमा ठूला भीडको कार्यक्रममा भागदौडको घटना नयाँ होइन। सन् २०२५ को जनवरीमा आयोजित महा कुम्भ मेलामा पनि हजारौँ श्रद्धालु पवित्र नदीमा नुहाउन हतारिँदा ३० जनाको मृत्यु भएको थियो। तमिलनाडुमा घटेको यस पछिल्लो दुर्घटनाले फेरि एक पटक भीड व्यवस्थापन र सार्वजनिक सुरक्षाको विषयमा गम्भीर प्रश्न उठाएको छ। हाल घटनाको छानबिन जारी छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार